इटहरी ।  झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल ९एसएनजेडी० ले गरिरहेको उहाँले बताउनुभयो । यो कार्यक्रमका लागि युएनडिपीको रु ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको रु एक करोड नौ लाख ३८ हजार गरी कूल रु एक करोड ९० लाख ६३ हजार आठ सय लगानी रहेको छ । जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजार वटा सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलितलगायतका एक सय पाँच परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको उहाँले बताउनुभयो । उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन् । त्यसपछि गाउँपालिकाले सो जग्गाको कसरी प्रयोग गर्ने निर्धारण गर्ने उहाँले बताउनुभयो । खेतीबाट प्राप्त लाभ शतप्रतिशत उनीहरुले नै पाउने उहाँले बताउनुभयो । क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरुमा भूमिको पहुँच पु¥याउन योजना पनि रहेको उहाँले बताउनुभयो । करिब ५० बिघामा सिँचाइ क्षमताको भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको युएनडिपीका कार्यक्रम अधिकृत सुरज दङ्गालले बताउनुभयो । बगरखेती कार्यक्रमअन्तर्गत कचनकवल–५ का कुर्वान मियाले चार कट्ठा जग्गा प्राप्त गरेको बताउनुभयो । विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरुलाई बुझाउन समस्या भइरहेको छ । कपितयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित रेखदेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले युएनडिपी र एसएनजेडीको कार्यक्रम अवधि समाप्त भए पनि गाउँपालिकाले सोको अपनत्व ग्रहण गरेर विपन्न नागरिकका लागि सुरुआत गरेको कार्यक्रममा निरन्तरता दिने बताउनुभयो ।