इटहरी। बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले रकम हिनामिना तथा अपचलन गरेको कसुरमा दुईसय ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । बराह सहकारीले सर्वसाधारणको १० अर्ब ७३ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋणीलाई पनि प्रतिवादी बनाएर गत बिहीबार जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दायर गरेको इलाका प्रहरी कार्यालय सुनसरीको प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । मुद्दा दायर भएकोहरुमध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ वमोजिम कसुरमा सजायको मागदाबी गरिएको छ । दुईसय १० जना ऋणीसहित दुईसय २२ जनालाई सहकारी ऐन २०७४ वमोजिमको कसुरमा सजाय माग गरिएको छ । पाँचवटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्न प्रतिवादी बनाइएको छ । आम नागरिकको बचत रकम सहकारीले हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानको प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपियाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निस्कर्ष निकालेको थियो । सोहीअनुसार मुद्दा दर्ता भएकामध्ये २ सय १० जना ऋणीलाई सहकारी ऐन २०७४ को दफा १२२ को छ, ,झ र ञ वमोजिमको कसुर गरेको अभियोगमा दफा १२४ को उपदफा १ को उपदफा १ को खण्ड ९घ० को २ वमोजिम सजाय हुनुपर्ने माग दाबी गरिएको छ । बराह सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीलाई भने सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० वमोजिम कारबाही तथा सजायको माग गरिएको छ । यी दुवै कसुरमा बराह गु्रप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा ९लामिछाने०, बहिनी मन्दिरा लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, हरिकुमार धमला ९विश्वकर्मा०, प्रकाश लामगादे, शुभराज खाती, विकास लामगादे, सुरेश विक, शोभराज भन्ने अम्बरबहादुर विश्वकर्मा, रवि पोर्तेल, पूर्णबहादुर कालिकोटे भन्ने पूर्णकुमार विश्वकर्मा, रिना राई ९लामिछाने०, भोजमान लामगादे, गंगाबहादुर कालिकोटे, शरण विश्वकर्मा, विकास भन्ने विकास गजमेर, लालबहादुर विश्वकर्मा, कृष्णा भन्ने अम्बर प्रसाद खाती, सुदिन बिक, कुमार दुतरात भन्ने कुमार विक, अनुपकुमार खड्गी, विष्णुकुमारी तुलाधर, अस्मिता भण्डारी, दातेन्जी शेर्पालगायतको नाम रहेको छ । प्रहरीमा सहकारी पीडितबाट २ सय ८१ वटा जाहेरी संख्या परेको प्रमुख तिम्सिनाले बताउनुभयो । जसमा ४ हजार १ सय ६८ जना पीडितले जाहेरी दिएका छन् । धरान बाहेक अन्य ठाउँ तथा विदेशमा समेत पीडितहरु रहेकाले अझै पीडितहरुको संख्या बढ्ने उहाँले बताउनुभयो । मुद्दामा पक्राउ परेकाहरुको आइतबारबाट अदालतमा वयान सुरु भएको छ । अभियोग दर्ता भएकामध्ये हाल १३ जना मात्र पक्राउ परेका छन् । अन्य फरारसूचीमा छन् ।बराह सहकारीमा लिएको रकम तिरिसकेको भए पनि पुनः ऋणीमा नाम आएको भनि गुनासो आएकाले ऋणीहरुले आफूले ऋण तिरेको बिलसहित अदालतमा पेश हुनुपर्ने प्रमुख तिम्सिनाले बताउनुभयो ।

