इटहरी । कोशी प्रदेशका महिलाहरुले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्नुभयो । सो क्रममा उहाले पोशाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरुले रोजगारी पाउने र ढाका लगायतका अन्य कपडाको विक्री बढ्ने बताउनुभयो । उहाले आर्थिक र कानुनी रुपमा नै नीति बनाउन सके स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले महिला उद्यमशिलता र स्थानीय उत्पादन प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई वितरण गरिने पोशाकमा स्थानीय उत्पादन अनिवार्य गर्ने नीति ल्याउने योजना रहेको बताउनुभयो । कोशी प्रदेशको ताप्लेजुङ, इलाम, पाँचथर, भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लामा वर्षेनी करिब १० करोड रुपैया बराबरको ढाकाका सामग्रीहरु उत्पादन हुने बताइएको छ । ढाका मौलिक पहिचान भएको र महिलाहरुको आम्दानीको स्रोत समेत भएकाले यसको बजार प्रवद्र्धन गर्न एवम् अन्तर्राट्र्रिय क्षेत्रमा पहिचान गराउन महोत्सव फलदायी हुने आयोजकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको तीन दिने ढाका महोत्सवमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ल्याइएका ढाकाका सामग्रीहरुको २८ वटा स्टलहरु राखिएको छ ।

