इटहरी। उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित भएका छन् । गत वर्ष प्रतिकिलो ७० रुपियाँका दरले सुपारी बिक्री गरेका किसानले यो वर्ष प्रतिकिलो ५० रुपियाँ मात्र मूल्य पाएका छन् । दुई वर्षयता लगातार मूल्य बढेपछि मोरङमा धान खेत मास्दै सुपारी खेती गर्ने लहर चलेको थियो । उत्तरी मोरङको लेटाङ नगरपालिका, मिक्लाजुङ र केरावारी गाउँपालिकामा सुपारीको सघन खेती हुने गर्छ । १५ कठ्ठामा सुपारी खेती लगाउँदै आउनुभएका लेटाङ–६ का हरिप्रसाद धिमालले गत वर्ष १० कठ्ठामा लगाएको सुपारीबाठ दुई लाख ५० हजार रुपियाँ आम्दानि गरेको बताउनुभयो । तर यो वर्ष उत्पादन पनि घट्यो मूल्य पनि किलोमा २० रुपियाँ घट्यो । धिमालले लगातार दुई वर्ष उच्च मूल्य पाएपछि थप पाँच कठ्ठा क्षेत्रफलमा सुपारी खेती लगाउनुभएको छ । सात कठ्ठामा सुपारी लगाउनुभएका सोही स्थानका भवानी आचार्यले दुई वर्ष अघि मात्र थप पाँच कठ्ठामा सुपारी लगाउनुभयो । तर यो वर्ष मूल्य नआएपछि आचार्य निरास हुनुहुन्छ । लेटाङ –२ फडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सय बोट सुपारीबाट एक लाख ३० हजार रुपियाँ आम्दानी गर्नुभएको थियो । तर यो वर्ष ९० हजार रुपियाँमा ठेक्का लागेको उहाँको भनाइ छ । थोरै उत्पादन गर्ने किसानले अझ कम मूल्य पाएको मोरङको कानेपोखरी –७ का इन्द्रप्रसाद कोइरालाले बताउनुभयो । गत वर्ष प्रतिकिलो ६० रुपियाँमा सुपारी बिक्री गर्नुभएका कोइरालाले यो वर्ष ३५ रुपियाँ मात्र पाउनुभयो । गाउँ गाउँ पसेका सुपारी सङ्कलकले कहिले गाडीलाई लोड पुगेन भन्ने, कहिले अग्ला–अग्ला बोटबाट सुपारी झार्न जोखिम हुने भन्दै मूल्य दिँदैनन । किसानलाई सुपारी बिक्री गर्ने स्थानसम्म थाहा नहुँदा किसान अझ मारमा परेका छन् । महालक्ष्मी सुपारी प्रशोधन केन्द्र उर्लाबारी –३ मङ्गलबारेका सञ्चालक सरखानु साहले किसानले सिधै प्रशोधन केन्द्रमा ल्याई दिए प्रति किलो ६० रुपियाँमा खरिद गरिरहेको बताउनुभयो । यो वर्ष सुरुमा ३५र३६ रुपियाँमा खरिद गरेको सुपारी अहिले ६० रुपियाँमा खरिद गरिरहेको साहको भनाइ छ । स्थानीय सय जनालाई रोजगार दिएर प्रशोधन केन्द्र सञ्चालन गरिरहनुभएका साहले मूल्य केही तलमाथि भए पनि सुपारी बिक्री नहुने समस्या भने नहुने जानकारी दिनुभयो । यो वर्षदेखि सुपारी छोडाउने मेसिन समेत भित्र्याउनु भएका साहले गुट्काका लागि उसिनेर र अरु प्रयोगका लागि छोडाएर सुपारी प्रशोधन गरिहरनुभएको छ । वार्षिक ३० टन प्रशोधित सुपारी बिक्री गरिरहनुभएका साहले व्यापारीहरूको माग धान्न नसकिरहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र मोरङको तथ्याङ्क अनुसार मोरङमा पाँच वर्ष अघि ८२५ हेक्टरमा सुपारी खेती हुन्थ्यो । हाल नौ सय पाँच हेक्टरमा सुपारी खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा आर्थिक वर्ष ०८१र०८२ मा दुई हजार ९४९ दशमलव ५४ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १ दशमलव ५४ मेट्रिक टनले बढी हो ।

