इटहरी । समुदायमा आधारित व्यवसायिक कृषि खेती प्रणालीलाई प्रवर्धन गर्दै आएको आरजु राइस मिल लिमिटेडले आउँदो वर्ष २०८२ को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मोरङको बेलबारी ९ मा सञ्चालित राइस मिलले शुक्रबार चार वटा कृषक समूहलाई बाली काट्ने आधुनिक हार्भेस्टर हस्तान्तरण गर्ने क्रममा बर्खे धानको समर्थन मूल्य सार्वजनिक गरेको हो। किसानहरुले खेती गरिरहेको चैते र बर्खे धान दुवैका लागि मिलले समर्थन मूल्य तोकेको हो । मिलका कार्यकारी अध्यक्ष विरेन्द्रबहादुर बस्नेतले किसानहरुसँग मिलले रामधान र हर्दिनाथ–६ जातका धान खरिद गर्ने भन्दै त्यसको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी दिनुभयो । अगनीतर्फ रामधान, हर्दिनाथ ६ र रंजित तथा चैतेमा सुवासी जातको धान खेतीबाट किसानले राम्रो उत्पादन लिइरहेको उहाँले बताउनुभयो । रामधान र हर्दिनाथ–६ धान न्यूनतम १ हजार ४०५ रुपैयाँ प्रतिमन ९४० केजी० देखि अधिकतम १ हजार ६०० रुपियाँसम्ममा खरिद गर्ने बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘१४ प्रतिशत नमि ९मोइस्चर० र शून्य प्रतिशत भुस भएको धान प्रतिमन १६००, १५ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १५०१, १६ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४८२, १७ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४६२, १८ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४४३, १९ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४२४ र २० प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४०५ रुपियाँ प्रतिमनका दरले मिलले धान खरिद गर्नेछ ।’ यो मूल्य प्रचलित बजार मूल्यको तुलनामा आकर्षक रहेको स्थानीय किसानहरुले बताएका छन् । त्यस क्रममा मिलले स्थानीय धानको जात रंजित धानको बजार भाउभन्दा प्रतिक्वीन्टल २०० रुपियाँ बढी मूल्यमा खरिद गर्ने पनि जनाएको छ । रामधान नेपालमै प्रमाणित भई दर्ता भएको धानको जात हो ।
आरजु राइस मिलले साविकको डाँगिहाट गाउँपालिका हाल बेलबारी नगरपालिका क्षेत्रका सयौं किसानहरुलाई समूहमा आवद्ध गराएर व्यवसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । कम्पनीकै कृषि प्राविधिकहरुमार्फत किसानहरुलाई आवश्यक सेवा प्रदान गर्ने तथा मिलको आवश्यकता अनुसार धान उत्पादन गराएर उत्पादित धान आफैं खरिद गर्ने र उक्त धान प्रशोधन गरी बजारमा आरजु लोकल प्रिमियम र आरजु आरोम्याटिक ब्राण्डमार्फत बजारमा चामल बिक्री गर्दै आएको छ । डाँगीहाटमा ६० करोड रुपियाँभन्दा बढी लगानी गरेर स्थापना भएको मिलले फुल अटोमेटेड मेसिनबाट उच्च गुणस्तरीय चामल उत्पादन गरी बजारमा बिक्री गर्दै आएको छ । त्यसमध्ये चैते धान सुवासी जातको चामल विदेश निर्यात गरिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँले मिलको आवश्यकता अनुसार धान उत्पादन भने नभएको बताउनुभयो । मिलले किसान समूहलाई बजारमा ३६ लाख रुपैयाँ मूल्य पर्ने हार्भेस्टर ११ लाख रुपैयाँमा किस्ताबन्दी सुविधासहित उपलब्ध गराएको जनाएको छ। कृषिलाई आधुनिकीकरण गर्न र प्रविधिमा आधारित कृषि उत्पादन प्रवद्र्धन गर्न थोरै जमिन भएका किसानहरुलाई संगठित गरी ठूलो क्षेत्रमा खेती गर्नुपर्ने भएकोले अभियानको रुपमा आफूहरुले काम गरिरहेको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले गतवर्ष मिलले ४३ करोड रुपियाँको धान खरिद गरेको र चामल बनाएर बिक्री गर्दा झण्डै ४ करोड रुपियाँ नोक्सानी भएको जानकारी दिनुभयो । भारतबाट निर्वाधरुपमा आयात हुने चामलसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न चुनौती रहेको भन्दै उहाँले यद्यपि हिम्मत भने नहारेको बताउनुभयो ।
यस्तै, किसानलाई धानखेती गर्न प्रेरणा दिने, आवश्यक मल, बिउ र प्राविधि तथा प्राविधिक जनशक्ति सहयोगसमेत गरी खेती गराई उत्पादन आफैंले किनेर चामल उत्पादन गरिरहेको उद्योगले चामल बेच्न भने ठूलो बढी चुनौती देखिएको जनाएको छ । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका किसानहरुलाई व्यवसायिक कृषि उत्पादनमा सहभागी गराउन स्थानीय सरकारले प्रयास गरिरहेको बताउनुभयो । आरजु राइस मिलका कारण पनि खेती गर्ने र उत्पादन गर्नुपर्छ भन्ने राम्रो वातावरण बनिरहेको भन्दै प्रमुख राईले सिंचाइ, माटोको गुणस्तर सुधार र जैविक मलको प्रयोगलाई बढाउने तर्फ नगरपालिकाले विशेष कार्यक्रम नै अगाडि बढाएको बताउनुभयो । त्यसबाहेक नगरपालिकाले आगामी वर्षबाट प्रतिघण्टा ३ बिघा खेतमा धान रोप्ने क्षमताको उपकरण खरिद गरेर किसान समूहलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । किसानको २५ प्रतिशत लागत साझेदारीमा उक्त मेसिन समूहमार्फत सञ्चालन गरिने प्रमुख राईले जानकारी दिनुभयो । मेयर राईले बेलबारीको खेतीयोग्य ८० देखि ९० प्रतिखत खेतको माटोमा अम्लियपन देखिएको भन्दै माटो सुधारका लागि विशेष कार्यक्रम ल्याउनै पर्ने भएको बताउनुभयो । कार्यक्रममा कृषि वैज्ञानिक डा। राजेन्द्र उप्रेतीले माटो सुधारको क्षेत्रमा सरकारले अझ बढी काम गर्नुपर्ने बताउनुभयो । रोडाभेटरको प्रयोगले माटो गहिरोसम्म नजोतिने हुँदा त्यसले धानबालीमा धेरै रोगहरु लाग्ने गरेको र विरुवाले माटोको तल्लो भागबाट आवश्यक खनिज पाउन नसक्दा समस्याहरु देखिएको बताउनुभयो ।

