इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ ृगुराँसे पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो ।लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताउनुभयो । पदमार्ग निर्माणले यहाँको व्यापार व्यवसायसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुगेको उहाँले बताउनुभयो । किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो । यहाँबाट सगरमाथा, मकालु कञ्चनजङ्गालगायत ठूला हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने राईको भनाइ छ । यहाँबाट अग्ला हिमशृङ्लासँगै तराईका सुन्दर भू–भागको अवलोकन सकिन्छ ।यो क्षेत्रमा रहेको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको रामप्रसादराई–१ का वडाध्यक्ष जोगेन्द्र राईले बताउनुभयो । यसलाई मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण भइरहेको उहाँको भनाइ छ ।आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाएर आर्थिक स्रोतका रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राईको भनाइ छ । यो पदमार्ग निर्माणका लागि हालसम्म करिब रु ७० लाख बजेट खर्च गरिएको उहाँको भनाइ छ ।
पदमार्ग निर्माणमा नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । रामप्रसादराई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । हाल ओख्रे बजारबाट करिब सात किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताउनुभयो । पदमार्गलाई वडा नं ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना छ ।पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चियाखेती विस्तार थालिएको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास ृहोमस्टे निर्माण गरिने, यसलाई बृहत मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो ।