इटहरी । थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिको आयोजनामा रामधुनी नगरपालिकाको झुम्कामा पहिलो रामधुनी फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव जेष्ठ ९ गतेदेखि सुरु भई जेष्ठ २४ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय जातजातीको मौलिक संस्कृति, परम्परा र खानपानलाई संरक्षण तथा प्रवद्र्धन गर्न फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव गर्ने थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिले जानकारी दिएको छ । महोत्सवमा करिब २० वटा स्टलहरू राखिनेछन्, जसमा थारु समुदायका परम्परागत परिकार, पुराना औजार, भेषभूषा लगायतका सामाग्रीहरूको प्रदर्शनी गरिनेछ ।

WhatsApp Image 2025-05-17 at 15.11.31_a910a9c1

प्रत्येक दिन साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने थारु कल्याणकारिणी सभा, रामधुनी नगर समिति सचिव जनक चौधरीले जानकारी दिनु भएको छ । महोत्सवमा थारु समुदाय सहित विभिन्न जातजातीको सांस्कृतिक झलक देख्न पाइनेछ । महोत्सवको अनुमानित लागत  ८ लाख रहेको छ । रामधुनी नगरमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना हुन लागेको जानकारी दिदै नगरमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने, झुम्का बजारको प्रवद्र्धन हुने र नयाँ पुस्तामा सांस्कृतिक सम्पदाको हस्तान्तरण हुने आयोजकले अपेक्षा गरेको छ ।

WhatsApp Image 2025-05-17 at 15.11.31_7a05ba7e

कार्यक्रम रामधुनी नगरपालिका वडा नम्बर ५, झुम्काको मनकामना चलचित्र हलको उत्तरपट्टि रहनेछ । पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभा सुनसरी जिल्ला  समिति सभा पति सगेन चौधरी, थारु कल्याणकारिणी सभा सुनसरी जिल्ला  समिति सदस्य,  थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिका सदस्य  लगायत स्थानियको सहभागिता रहेको थियो ।