सुनसरी – नेकपा एमाले सुनसरी जिल्ला कमिटी स्थानीय विकास विभागको आयोजनामा "विकास र समृद्धि योजना चित्र निर्माण कार्यशाला" इनरुवामा सम्पन्न भएको छ।
कार्यक्रम नेकपा एमाले सुनसरी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष परशुराम यादवको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरधन राईले जनताको घरघरमा पुगेर उनीहरूको समस्या पहिचान गर्दै त्यसको समाधानका लागि योजनाको खाका तयार पार्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँले २०८२ सालभित्र कोशी प्रदेशका सबै जिल्लामा समृद्धिका लागि योजना चित्र निर्माण गरिने स्पष्ट पार्नुभयो।

राईले स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेताहरुलाई वडास्तरसम्मको विकास योजना तयार गर्न सुझाव दिनुभयो। “भौतिक पूर्वाधारको अधिकतम काम सम्पन्न भइसकेको छ, अब जनतालाई आर्थिक रूपमा सम्पन्न कसरी बनाउने भन्नेबारे गम्भीर योजना बनाउन जरुरी छ,” उहाँले भन्नुभयो।

पूर्व मुख्यमन्त्री समेत रहनुभएका राईले जनताले हरेक निर्वाचनमा मतदान किन गर्ने भन्ने प्रश्न उठाउने गरेको उल्लेख गर्दै, “हामीले विकासको खाका प्रस्तुत गर्न सके मात्र जनताको विश्वास जित्न सकिन्छ,” भन्नुभयो। उहाँले “स्वच्छ, सुखी र समुन्नत कोशी प्रदेश” निर्माणका लागि एमालेले योजनाबद्ध ढंगमा अगाडि बढ्ने धारणा राख्नुभयो।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसियतले सुनसरी जिल्लाको जनभावनालाई सम्बोधन गर्दै कोशी प्रदेशको समृद्धिका लागि सुनसरीले महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, मञ्जु भण्डारी, अमृता सावा, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ लगायत कोशी प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको नेकपा एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिनुभयो।



