इटहरी । खाँदबारीस्थित करदाता सेवा कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार अझै १६ करोडभन्दा बढी राजस्व सङ्कलन गर्न बाँकी छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित जरिवाना छुटसम्बन्धी सार्वजनिक कार्यक्रममा विभागका निर्देशक तथा सूचना अधिकारी वासुदेव पौडेलले, बाँकी कर तिर्ने करदातालाई २०८२ पुस मसान्तसम्म जरिवाना र ब्याज छुट दिने बताउनुभयो । ढुवानी साधनको भाडा, सामाजिक संस्था र अवकाश कोषमा लाग्ने कर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा आय विवरण नबुझाएका करदातालाई छुट दिन सकिने निर्देशक पौडेलले बताउनुभयो । खाँदबारी कर कार्यालयको तथ्याङ्कअनुसार सङ्खुवासभा जिल्लामा हाल २५ हजारभन्दा बढी व्यवसायी कर प्रणालीमा आबद्ध छन् । राजस्व विभागले आगामी महिनाहरूमा बाँकी कर सङ्कलनलाई तीव्रता दिने तयारी गरेको जनाएको छ ।


