इटहरी । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवारले आज सोमबार १६औ नगरसभामा आगामी वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदायका महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको बताए । उनका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार तथा आन्तरिक श्रोतबाट प्राप्त हुने रकमसमेत समेटिएको उक्त बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ। बजेट विवरणअनुसार नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ।

यस्तै सङ्घीय सशर्त अनुदानबाट ४७ करोड १ लाख, समपूरक अनुदान सङ्घबाट ३ करोड ४१ लाख, विशेष अनुदानबाट ७५ लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १९ करोड ३४ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, प्रदेश सरकारबाट प्रदेश सशर्त अनुदान अन्तर्गत २ करोड ३० लाख ५६ हजार, समपूरक अनुदानबाट १ करोड, वित्तीय समानीकरण अनुदानबाट १ करोड ८२ लाख ५० हजार र प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी वर्षका लागि चालु खर्चतर्फ १५ करोड ८८ लाख, वडा कार्यालयहरूका लागि ८ करोड ८० लाख र नगर तर्फको पुँजीगत बजेटमा २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ विनियोजन गरेको छ।त्यसैगरी सङ्घीय सशर्त अनुदानका लागि ४७ करोड १ लाख, प्रदेश सशर्त अनुदानका लागि २ करोड ३० लाख ५६ हजार, सङ्घीय समपूरक अनुदानका लागि ३ करोड ४१ लाख, प्रदेश समपूरक अनुदानका लागि १ करोड र सङ्घीय विशेष अनुदानका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ। नगर उपप्रमुखले सीमान्तकृत र पछाडि पारिएका समुदाय, विशेष गरी महिलाहरूका लागि आयआर्जन र सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताए ।