केराबारी । मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९५ बुँदे व्यापक विकास नीति तथा कार्यक्रम घोषणा गर्दै  ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ।
पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत समावेश गरिएको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, ऊर्जा लगायतका आधारभूत पूर्वाधारको विस्तार र सुधार, विपन्न तथा विशेष समूहका लागि सामाजिक सुरक्षा कार्यक्रम, ई–गभर्नेन्स, डिजिटल सेवा विस्तार, युवा र महिलाको उद्यमशिलता अभिवृद्धि, रोजगार सिर्जना लगायतका कार्यक्रमहरू प्राथमिकतामा रहेको गाउँपालिका उपाध्यक्ष मनमाया मगरले प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिकाले आगामी वर्षमा सबै वडा केन्द्रहरुलाई पालिका केन्द्रसँग कालोपत्रे सडकले जोड्ने योजना बनाएको छ। साथै १५ शय्याको आधुनिक अस्पताल निर्माण, अस्थायी प्रहरी चौकी स्थापना, बसपार्क निर्माण, सार्वजनिक शौचालय तथा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइनेछ। सिँचाइ व्यवस्थापन र सञ्चार सुविधाका लागि GSM टावर स्थापनामा पनि जोड दिइने छ।

गाउँपालिकाले कृषि क्षेत्रमा माटो परीक्षण प्रयोगशाला सुदृढीकरण, किसान परिचयपत्र वितरण, जैविक खेती प्रवर्द्धन तथा कृषि एम्बुलेन्स सेवा सुरु गर्ने योजना बनाएको छ। पशुपालनमा निःशुल्क रोग नियन्त्रण, दुग्ध सहकारी संचालन र कुकुर बन्ध्याकरण कार्यक्रम लागू गरिनेछ। पर्यटन क्षेत्रमा बजार सौन्दर्यीकरण, सांस्कृतिक पार्क निर्माण तथा स्थानीय कलाकार प्रवर्द्धन गरिनेछ।सोही कार्यक्रममा गाउँपापालिकालाई पुर्णखोप तथा सरसफाइ सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । १६ औं गाउँसभा अधिवेशनमा वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीको सहभागिता थियो ।