इटहरी |  इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि संघीय सरकारबाट १ करोड ४२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा समपूरक तथा विशेष अनुदान कार्यक्रम अन्तर्गत यो योजना कार्यान्वयनमा ल्याइनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद अशोक कुमार चौधरीको निरन्तर प्रयास र दृढ नेतृत्वले इटहरीको शिक्षा क्षेत्रमा महत्वपूर्ण बजेटको व्यवस्थापन गराएको छ।

सांसद चौधरीले प्रदेश सरकार तथा स्थानीय तहसँगको प्रभावकारी समन्वयमार्फत योजना छिट्टै कार्यान्वयन हुने विश्वास दिलाएका छन्। छात्रावास निर्माणबाट टाढाबाट आउँदै आएका विद्यार्थीहरूलाई राहत मिल्नुका साथै शिक्षा प्राप्तिमा सहजता आउने अपेक्षा गरिएको छ।

सांसद चौधरीको प्रतिबद्धता यहीँमा सीमित छैन। इटहरी–५ कै श्री ज्योति माध्यमिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि भवन निर्माण गर्न संघीय शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङमार्फत ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

त्यस्तै, इटहरी–१० मा रहेको श्री मनमोहन आधारभूत विद्यालयका लागि समेत चौधरीको विशेष पहलमा बजेट स्वीकृत भइसकेको छ।

शिक्षा क्षेत्रलाई विकास र समृद्धिको मूल आधार मान्दै सांसद चौधरीले स्थानीय शैक्षिक संस्थाहरूको पूर्वाधार सुदृढीकरणमा आफ्नो ध्यान केन्द्रित गर्दै आएका छन्। संघीय स्रोत साधनको न्यायोचित र पारदर्शी प्रयोगमा आफू कटिबद्ध रहेको स्पष्ट पार्दै उनले भनेका छन्, “शिक्षा नै परिवर्तनको मूल चाबी हो, म जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्न दृढ छु।”