इटहरी | नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवसको अवसरमा संघको सुनसरी जिल्ला शाखाले करसम्बन्धी एक दिवसीय तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम असार १० गते इटहरीस्थित गंगा जमुना होटलमा आयोजना गरिएको थियो।

तालिम कार्यक्रम संघका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा जनस्वास्थ्य कार्यालय, इनरुवाका निमित्त कार्यालय प्रमुख सिताराम मेहता उपस्थित हुनुहुन्थ्यो। 

तालिममा आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत गोविन्द्र पौडेलले सहभागीहरूलाई औषधि व्यवसायमा करका कानुनी पक्ष, नीतिगत व्यवस्था, कर चुक्ता प्रक्रिया, बीमा दस्तुर, आर्थिक लेनदेनको पारदर्शिता तथा करप्रतिको जिम्मेवारीका विषयमा विस्तृत रुपमा प्रशिक्षण दिनुभयो। उहाँले नेपाल सरकारको हालैको नीति तथा नियमहरूबारे पनि जानकारी गराउनुभयो र व्यवसायीहरूलाई करसम्बन्धी प्राविधिक जटिलता समाधान गर्न सुझाव दिनुभयो।

संघका अध्यक्ष साहले तालिमको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै औषधि व्यवसायीहरूको पारदर्शी व्यवसायिक अभ्यासलाई प्रवर्धन गर्न यस्ता तालिम उपयोगी हुने बताए। "व्यवसायसँगै करप्रति सचेत हुन जरुरी छ, राज्यको विकासका लागि कर योगदान एक अनिवार्य दायित्व हो", अध्यक्ष साहले भने।

कार्यक्रमको संचालन महासचिव नवीन राज गौतमले गर्नुभयो भने स्वागत मन्तव्य उपाध्यक्ष शत्रुधन प्रसाद साहले दिनुभयो। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रविन्द्र घिमिरे, कोषाध्यक्ष प्रभात कुमार श्रेष्ठ, संघका केन्द्रीय प्रतिनिधिहरू, विभिन्न उपसमितिका संयोजक, सदस्यहरू तथा औषधि व्यवसायमा आबद्ध अन्य व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले तालिमलाई अत्यन्त उपयोगी र जानकारीमूलक भएको प्रतिक्रिया दिएका थिए। यस्ता तालिमले व्यवसाय सञ्चालनमा पारदर्शिता ल्याउनुका साथै करसम्बन्धी समस्या समाधानमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो।IMG-20250624-WA0018

नेपाल औषधि व्यवसायी संघ सुनसरी शाखाले आगामी दिनहरूमा पनि यस्तै प्रकारका सीप विकास तथा जानकारीमूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ।कार्यक्रममा संघका विभिन्न तहका पदाधिकारी, जिल्ला सदस्यहरू तथा इटहरी, इनरुवा, धरानलगायत विभिन्न स्थानका औषधि व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।