इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख अकली चौधरीले नगरसभाको १६ औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासतर्फ ६१ करोड ३७ लाख, सामाजिक विकासतर्फ ४६ करोड १२ लाख २ हजार, आर्थिक विकासतर्फ २ करोड ८६ लाख, वन तथा वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ७५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ । बहुवर्षीय योजनाहरूको कार्यान्वयनका लागि ६ करोड ३ लाख ५७ हजार १ सय ८०, वडागत बजेट अन्तर्गत चालु खर्चतर्फ ३ करोड ७६ लाख ८८ हजार र पुँजीगततर्फ १४ करोड ५९ लाख १२ हजार गरी १८ करोड ३६ लाख विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २५ करोड ५० लाख, वडा गौरव आयोजनाको साझेदारीतर्फ ६ करोड, ऋण तथा ब्याज भुक्तानीतर्फ ६५ लाख विनियोजन गरिएको छ । समग्रमा चालु खर्चतर्फ ८२ करोड ६२ लाख ९० हजार, पुँजीगत खर्चतर्फ ८७ करोड ९९ लाख ६९ हजार १ सय ८० र वित्तीय व्यवस्थापन तर्फ ६५ लाख विनियोजन गरिएको हो । त्यस्तै नगरपालिकाले आम्दानीतर्फ विभिन्न स्रोतमार्फत एक अर्ब ७९ करोड ७१ लाख ७ हजार १८० रुपैया प्राप्त हुने अनुमान गरेको छ । प्रस्तुत बजेट तथा कार्यक्रम आगामी शुक्रबार नगरसभाले छलफल गरी पारित गर्ने जनाएको छ भने यसअघि नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भइसकेको छ ।


