इटहरी । पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे वडा नं. २ को छ्यालिस बिघेमा नगर अस्पतालको छैटौ स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो । शिविरमा ९८ जना बिमारीहरूले दाँत सम्बन्धी सेवा प्राप्त गरेको पथरी नगरअस्पतालका प्रशासन प्रमुख याम खड्काले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारी एल्डिना गुरुङलाई सम्मान–पत्र, दोसल्ला र नगद १० हजार पुरस्कार सहित सम्मान गरिएको छ । यसै गरी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका मेडिकल सुपरिटेन्डेन्ट डा. रवि कुमार शाहलाई पथरी नगर अस्पताललाई पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओडाएर सम्मानित गरिएको थियो । सोहि अस्पतालमा कार्यरत रही अन्यत्र सरुवा भई जाने कर्मचारीहरुलाई विदाई पनि गरिएको थियो । हाल ६४ जना कर्मचारी कार्यरत रहेको सो पथरी नगर अस्पतालको ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँ बराबरको आम्दानी तथा खर्च सम्बन्धी वार्षिक बजेट पनि नगरका स्वास्थ्य शाखा प्रमुख मुरारीप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो । उहाँले खर्च तर्फ १० करोड ४ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ उल्लेख गर्दै १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ बचत रहेको जानकारी दिनुभयो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत मन्तव्य वडा नं. २ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले राख्नुभएको थियो । पञ्चायत माविको विद्यालय व्यवस्थापन समिती अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेसका नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), संविधानसभा सदस्य चण्डीप्रसाद राई समेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


