सुनसरी | अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको अवसर पारेर इटहरी लेडी जेसीजको आयोजनामा तथा इटहरी वडा नं. १२ को सहकार्यमा दुईदिने विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खनारस्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी वडा नं. १२ का वडा अध्यक्ष भुवन पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पोख्रेलले लागू औषध दुरुपयोग वर्तमान पुस्ताको भविष्यमाथिको गम्भीर संकट भएको उल्लेख गर्दै विद्यालयस्तरमै सचेतना फैलाउनु अत्यन्त आवश्यक भएको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले लागू औषधका कानुनी पक्ष, तस्करीका प्रवृत्ति, र वर्तमान अवस्था सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो। यस्तै, आस्था फाउन्डेसनका प्रो. चन्द्र बरालले मनोसामाजिक पक्ष, असर र पुनःस्थापनाका उपायहरूबारे प्रभावशाली प्रस्तुति दिनुभयो।
कार्यक्रमको समग्र संयोजन इटहरी लेडी जेसीजकी उपाध्यक्ष तारा दुलाल लुइँटेलले गर्नुभएको थियो। संयोजक दुलालले यो अभियानले युवावर्गलाई सचेत तुल्याउनुका साथै विद्यालय समुदायमा लागू औषधविरुद्धको सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, विद्यार्थी प्रतिनिधिहरू, इटहरी लेडी जेसीजका पूर्वअध्यक्षहरू, पदाधिकारी, सदस्यहरू, तथा अन्य स्थानीय सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तिम दिन सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै आयोजकहरूले आगामी दिनमा समेत यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए।
संगठनका अध्यक्ष लक्ष्मी बरालका अनुसार इटहरी लेडी जेसीजले शिक्षा, स्वास्थ्य, युवा सशक्तिकरण र सामाजिक सचेतना सम्बन्धी विविध कार्यक्रमहरू गर्दै आएको छ, र आगामी दिनहरूमा लागू औषध न्यूनीकरणका लागि थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिनेछ।


