इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा ‘कृषि बजार’ निर्माण हुने भएको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्ने लक्ष्यले यहाँ कृषि बजार निर्माण थालिएको हो । यहाँका लेक तथा बेँसी क्षेत्रमा उत्पादन भएका बस्तुलाई सङकलन गरेर बेचविखन गर्ने लक्ष्यले वडाले कृषि बजार निर्माण गरिरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए। दीर्घकालिन लक्ष्यका साथ वडाको थौरे बजेटबाट भएपनि यो आर्थिक वर्षबाट संरचना निर्माण थालिएको उनको भनाइ छ । वडाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेर बजार व्यवस्थापनको काम थालेको उनले बताए ।

यो स्थानमा महिनामा २ पटक बजार लाग्ने भएकाले किसानले ल्याएका कृषि उत्पादनलाई सहज रुपमा बेचविखन गर्ने वातावरण बनाउन कृषि बजार निर्माण भइरहेको उनको भनाइ छ । कृषि बजार निर्माण पश्चात यहाँको कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उनले बताए। वडाले स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपजको सहज बेचविखनसँगै बजारीकरणको लागि कृषि बजार निर्माणले उत्साह थपेको स्थानीयबासी दलबहादुर राईले बताए । कृषि बजार निर्माण पश्चात यहाँ उत्पादन भएका कृषि उपजको विनिमयमा सहजता हुने उनको भनाइ छ । खोक्सिक क्षेत्रलाई कृषि उत्पादनको हिसाव निकै उर्वरभूमि मानिन्छ । यहाँ किसानले तरकारीलगायत नगदेबालीको व्यावसायीकखेती गर्दै आएका छन् ।