इटहरी । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८२ ÷०८३ को नीति, कार्यक्रम तथा बजेट मार्फत आफ्नो नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन निर्माणलाई प्राथमिकता राखेको छ । बिहीबार नगरपालिकाको सभाहलमा नगरकी उप– प्रमुख देवीमाया काफ्लेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । गत मंगलवार १७ औं नगरसभा सम्पन्न भएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा आगामी आर्थिक वर्षको लागि कूल ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभाले प्रस्तुत गरेको बजेटको विषयमा गरिएको पत्रकार सम्मेलनमा हाल निर्माण भइरहेको प्रशासनिक भवन निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो। उहाँले नगर अस्पतालको फार्मेसी सञ्चालन दोस्रो प्राथमिकतामा राख्दै २ करोड बिउ पुँजीको बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो। त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले वडा नम्बर ८ मा रहेको बुद्ध मावि भवन निर्माणका लागि १ करोड , नगरपालिकाको सहयोग र भर, घरविहीनलाई सुरक्षित घर नामक निर्माण कार्यक्रमलाई निरन्तरता दिइने, प्राविधिक शिक्षामा अनुदान सक्षम जनशक्ति उत्पादन भन्ने अभियानका साथ प्राविधिक तथा शैक्षिक कार्यक्रम अगाडि बढाइने लगायतका अन्य विभिन्न विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाको स्थापना भए देखिको २५ करोड ३० लाख ९३ हजार रूपैयाँ लाई घटाएर आर्थिक वर्ष २०८१ ÷०८२ मा ६ करोड ९२ लाख ८३ हजार १८७ पुन फर्चोट गरी हाल सम्ममा कुल बेरुजु ११ करोड ४९ लाख ८४ हजार ४७३ मा कायम गरिएको उल्लेख गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरको पूर्वाधार विकासमा लगानी गर्दै रोजगारी सृजना गरी गरिबी घटाउने, नगरका नागरिकहरुको स्वास्थ्यको गुणस्तर बढाउन स्वास्थ्य क्षेत्रमा लगानी बढाउने, कृषिमा व्यवसायिकीकरण, यान्त्रिकरण आधुनिकीकरण र विविधिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यहरू लिएको सभामा जानकारी गराइएको थियो ।


