इटहरी। गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको हो । बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार बिर्तामोडमा ५४, दमक नगरपालिकामा एक र गौराहद नगरपालिकामा छ सङ्क्रमित फेला परेका हुन् । जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना डेङ्गी सङ्क्रमित फेला परेका खड्काले जानकारी दिनुभयो । यसैबिच, डेङ्गी सङ्क्रमण बढ्न थालेको भन्दै बिर्तामोडमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । नगरपालिकाको सहभालहमा आज ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकार भएकासँग अभिमुखीकरण’ कार्यक्रम आयोजना गरी उक्त अभियानको सुरुआत गरिएको हो । नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्र सङ्ग्रौलाले अभियानको शुभारम्भ गर्दै रोग लाग्नुभन्दा लाग्न नदिने वातावरण सिर्जना गर्न सबैले सहकार्य र समन्वय गरी सचेत हुनुपर्ने बताउनुभयो । नगर क्षेत्रमा रहेका सहकारी, बैंकलगायत सङ्घसंस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीजन्य रोग नियन्त्रण सहकार्य गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । बिर्ता बजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेज, पसललगायत सम्भावित स्थानमा गएर लार्भा नष्ट गरिएको छ । अभिमुखीकरण कार्यक्रममा नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई महामारीजन्य रोग नियन्त्रणका लागि ‘पोर्टेबल महामारी किट’ वितरण गरिएको नगर उपप्रमुखसमेत रहनुभएका सङ्ग्रौलाले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा नगरका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अजय पौडेलले प्रस्तुतीकरण दिँदै मनसुन सुरु भएसँगै किटजन्य महामारीको सङ्क्रमण उच्च हुने भएकाले सम्भावित जोखिमबाट बच्न सबै सचेत हुनुपर्ने बताउनुभयो । बिर्तामोडमा पाँच वर्षयता मलेरिया नदेखिएको जनाउँदै जनस्वास्थ्य निरीक्षक पौडेलले कालाजार र जापानिज इन्सेफ्लाइटिसका बिरामी एक÷एक जना भेटिएका उल्लेख गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर विष्टले जलवायु परिवर्तनका कारण डेङ्गी सङ्क्रमण पुसमा देखिएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै लाग्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले डेङ्गी नियन्त्रणका लागि विद्यालयस्तरबाट अभियान सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी एक प्रकारको ज्वरो हो । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ । डेङ्गीको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । यस्ता लक्षण देखापरेमा तत्काल चिकित्सकको सल्लाह लिई स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।


