इटहरी | कवि रमेशप्रसाद धमलाद्वारा रचित पौराणिक विषयवस्तुमा आधारित खण्डकाव्य ‘वालिबध’ को भव्य लोकार्पण समारोह सम्पन्न भएको छ। काफल्स मल्टिपर्पोज कम्पनी प्रा.लि.को आयोजनामा आयोजित उक्त कार्यक्रम कविताको बौद्धिक मूल्याङ्कन र साहित्यिक यात्राको उत्सवको रूपमा सम्पन्न भयो। समारोहको अध्यक्षता काफल्स कम्पनीका प्रबन्ध निर्देशक सन्तोष धमलाले गरेका थिए भने प्रमुख अतिथि समीक्षक  कवि हरि कट्टेल थिए ।

‘वालिबध' खण्डकाव्य रामायणको पृष्ठभूमिमा आधारित भई वालि र सुग्रीव पात्रहरूका माध्यमबाट समकालीन समाजका विविध विकृति, विसंगति र मानव मूल्यका पक्षमा सशक्त अभिव्यक्ति दिएको कृति हो। छन्दमा रचित यो खण्डकाव्यमा साहित्यिक सौन्दर्य, पौराणिक आधार र समसामयिक दृष्टिकोणको सशक्त समायोजन गरिएको देखिन्छ।

प्रमुख अतिथि समीक्षक  कवि हरि कट्टेलले काव्यको समीक्षात्मक टिप्पणी गर्दै भने, लेखकले पौराणिक पात्रलाई माध्यम बनाएर मानवतावादी चेतना, कर्मवाद र आत्मसम्मानको आवश्यकतालाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ। वर्तमान विश्वपरिवेशमा नैतिक पतन, स्वार्थ र सामाजिक विसङ्गतिको घेरामा मानवता गुहारिरहेकै सन्दर्भमा यस काव्यले मार्गदर्शन गर्ने प्रयत्न गरेको छ ।

कार्यक्रममा लेखक रमेशप्रसाद धमलाले आफूले यस कृति लेख्दा पौराणिक कथामा रहेको गहिरो सांस्कृतिक चेतना र समकालीन यथार्थबीचको सम्बन्ध खोज्ने प्रयास गरेको बताए। 

कार्यक्रममा प्राध्यापक डा. भेषप्रसाद धमला, धमला सामाजिक सेवा प्रतिष्ठानका पदाधिकारीहरू, इटहरीका ख्यातिप्राप्त साहित्यकारहरू, शिक्षक, विद्यार्थी तथा अन्य विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो। उपस्थित वक्ताहरूले काव्यप्रति आफ्ना धारणा राख्दै कृति नेपाली साहित्यको समकालीन विमर्शमा एक महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

कवि रमेशप्रसाद धमला ओखलढुंगा जिल्लाको वेतिनी, वडा नम्बर ५ मा जन्मिएका हुन्। हाल उनी सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–२ मा स्थायी बसोबास गर्दै साहित्य सिर्जनामा सक्रिय छन्।