इटहरी । बिहीबार इलाम सदरमुकाम आइपुगेका भारत डुअर्सका दुई पर्यटक चिसो मौसममा रमाउन इलामकै जसबिरेतिर हुइँकिनुभयो । उनीहरूको यात्रा जसबिरे मात्र होइन माइपोखरी, सन्दकपुर, जौबारी हुँदै पशुपतिनगर निस्किएर डुअर्स फर्किनु थियो । उनीहरूका लागि पुर्बेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष ग्रीष्म सुब्बाले कहाँ कहाँ र कुन बाटो जाने गन्तव्य टुङ्गो गर्दै त्यसतर्फ पठाउनुभयो । इलाम घुम्न आउने भारतीय पर्यटक उनीहरू मात्र होइनन् । अचेल दिनहुँ जसो भारत पश्चिम बङ्गालबाट इलाम भित्रिनेको सङ्ख्या ठुलै छ ।
पछिल्लो समय इलाम भित्रिने पर्यटक बजारक्षेत्रमा भन्दा एकान्त र गाउँ नै जाने गरेको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । इलाम भित्रिने पर्यटकले होमस्टेको बसाइलाई धेरै सहज मान्ने पनि गरेका छन् । त्यसो त जिल्लामा भित्रिने पर्यटकलाई सुरक्षित महसुस गराउने प्रमुख दायित्व जिल्लावासीकै भएको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालको ठम्याइ छ ।इलाम आएका पर्यटकको स्वागत र बिदाइमा पनि कन्जुस्याइँ गर्न नहुने उहाँले बताउनुभयो ।


