इटहरी । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा दान दिवस मनाइएको हो । धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्म निर्भरता भन्ने नाराका साथ २२ औं धान दिवस मनाइएको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले बताउनुभयो । धान दिवसमा स्थानीय कृषकसहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू, कार्यलयका प्रमुखहरूको उपस्थिति रहेको थियो । उपस्थिति सबैले धान रोपेर धान दिवस मनाइएको राष्ट्रिय कृषक समूह महासङ्घ ताप्लेजुङले जनाएको छ ।

यता ताप्लेजुङमा गत वर्षको तुलनामा धान रोपाइ घटेको छ । गत वर्ष यो अवधिमा २९।४ प्रतिशत रोपाइ भएकोमा यो वर्ष १७।८५ प्रतिशत मात्र रोपाइ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी सशिकुमार सिं ले जानकारी दिनुभएको छ ।उहाँका अनुसार पानी कम परेकोले रोपाइ पनि कम भएको हो । तर, यो वर्ष सरदारभन्दा धेरै पानी पर्ने भएकाले रोपाइ धेरै हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।