इटहरी । इटहरी लेडि जेसीजले आज इटहरी ३ मा २१ औँ राष्ट्रिय धान दिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रम इटहरी लेडि जेसीजकी कार्यकारी उपाध्यक्ष शान्ती कटुवालको अध्यक्षतामा सम्पन्न भयो भने माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन उपाध्यक्ष ममता पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरूले हलो जोतेर, धान रोपेर तथा आपसमा हर्ष व्यक्त गर्दै असार १५ लाई कृषि उत्सवको रुपमा मनाएका थिए । स्थानीय महिलाहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, युवा तथा समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुभद्रा प्याकुरेलले असार १५ कृषि संस्कृतिको प्रतीक , मानो रोपेर मुरि फलाउने यो समय मेहनत, आशा र भविष्यप्रतिको भरोसाको प्रतिविम्ब भएकाले यो पर्वले आफ्नै माटो र पसीनासँग जोड्ने बताउनुभयो । त्यसैगरी कार्यकारी उपाध्यक्ष शान्ती कटुवालले लेडि जेसीज केवल नेतृत्व विकास र सिप विस्तारमा सीमित नभएर व्यवहारिक ज्ञान, खेतबारी, समाज र संस्कृतिसँग पनि यसले गहिरो सम्बन्ध राख्ने बताउनुभयो । इटहरी लेडि जेसीजकी अध्यक्ष लक्ष्मी बराल अहिले विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत हुनुहुन्छ । कार्यक्रममा बरालको स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । केही दिन अघि माया घर नजिकै लडेर उहाँको हात भाँचिएको थियो। स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिइएको छ। उपस्थित सम्पूर्ण सदस्यहरूले “लक्ष्मी बराल चाँडै स्वस्थ भएर पुनः सक्रिय भूमिका निभाउन सकून् भन्ने कामना व्यक्त गरेका थिए। धान दिवसको अवसर पारेर इटहरी लेडि जेसीजले महिलाको सशक्तिकरण, कृषिमा व्यवहारिक सहभागिता र संस्थागत भावनात्मक एकतालाई सशक्त ढंगले प्रस्तुत गरेको देखिन्थ्यो । कार्यक्रमलाई सांस्कृतिक र अनुभूति–मूलक बनाइएको थियो, जसले महिला नेतृत्वको सम्भावना र सामाजिक उत्तरदायित्वको सन्देश समेत दिएको छ


