इटहरी | देशभर २२औं राष्ट्रिय धान दिवस मनाइरहँदा इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमै धान रोप्दै दिवसलाई विशेष ढंगले मनाएका छन्।

विद्यालय परिसरनजिकैको खेतमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सहभागितामा रोपाइँ कार्यक्रमको आयोजना गरिएको थियो। विशेष कुरा के थियो भने, उक्त रोपाइँमा परम्परागत तरिका मात्र नभई आधुनिक कृषि प्रविधिको समेत प्रयोग गरिएको थियो।

विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठका अनुसार, शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन। उनले भने, “हामी विद्यार्थीलाइ खेतबारीमा लगेर उनीहरूलाई व्यवहारिक अनुभव दिन चाहन्छौं। कक्षा कोठामा पढाइएका कुरा खेतमा लागु गर्न सिकाउने हाम्रो अभ्यास हो। यसबाट उनीहरूलाई आधुनिक कृषि प्रणाली, परम्परागत ज्ञान र सिर्जनशीलताको महत्त्व एकैसाथ थाहा हुन्छ।”

श्रेष्ठका अनुसार विद्यालयले विगत केही वर्षदेखि हरेक असार १५ मा यस्तो कार्यक्रम गर्दै आएको छ। विशेषगरी कृषिमा प्रविधिको प्रयोग र व्यावसायिक सोचको विकास गर्न विद्यार्थीहरूलाई बाल्यकालदेखि नै प्रेरित गर्ने उद्देश्यसहित यस्तो अभ्यास गरिएको हो।

खेतमा हातले रोपाइँ गर्दा र आधुनिक औजार प्रयोग गरेर काम गर्दा आफूहरूलाई रमाइलो अनुभूति मात्र नभई सिकाइको अवसर पनि मिलेको विद्यार्थी प्रमिशा खतिवडाले बताइन् ।“पहिला खेतमा गएका थियैनौं। आज पहिलो पटक चप्पल फुकालेर हिलोमा खुट्टा डुबाएर धान रोप्यौं। गाउँमा हाम्रा बुबा-आमाले गरिराखेको काम हामी आफैले गर्न पाउँदा एकदमै राम्रो लाग्यो।”

अर्का अर्चन राईले विद्यार्थीले भने, “किताबमा त पढेका थियौं, तर आज त आफैंले खेतमा रोप्दा अझ राम्रो बुझियो। रोपाइँको वैज्ञानिक तरिका, सिँचाइको महत्त्व र मेसिनको प्रयोग पनि देख्यौं।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठ, शिक्षक–शिक्षिका, अभिभावक र स्थानीय कृषकहरू पनि सहभागी थिए। सबैको मिलेको प्रयासले कार्यक्रम अझै प्रभावकारी र आकर्षक बनेको थियो।

अध्यक्ष श्रेष्ठ भन्छन्, “हाम्रो प्रयास भनेको बालबालिकालाई पढाइसँगै जीवनोपयोगी सीप सिकाउनु हो। हामी चाहन्छौं, उनीहरूले कृषिलाई हेप्न होइन, सम्मान गर्न सिकून्। कृषिबाट पनि उज्वल भविष्य बनाउने सम्भावना छ भन्ने सोच विकसित होस्।”

आजको पुस्तालाई व्यवहारिक र प्रविधिमैत्री बनाउने उद्देश्यले गरिएको यस्ता कार्यक्रमले शिक्षा प्रणालीलाई समृद्ध बनाउने मात्र होइन, सामाजिक, सांस्कृतिक र आर्थिक चेतना पनि दिन्छ। फुजिसान सगरमाथा बोर्डिङ स्कुलले देखाएको यो अभ्यास अन्य विद्यालयका लागि पनि प्रेरणा बन्न सक्छ।