संखुवासभा | सङ्खुवासभाको मादी नगरपालिका र कृषि ज्ञान केन्द्र संखुवासभाको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस कार्यक्रम उमृङ, मादी–४ मा भव्यताका साथ सम्पन्न भएको छ। ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा रोपाइँ, अन्तक्र्रिया, सम्बोधन तथा कृषिको प्रवर्द्धनसम्बन्धी सन्देशहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमको अध्यक्षता मादी नगरप्रमुख जीवन लिन्थेपले गर्नुभएको थियो भने पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
प्रमुख अतिथि गौतमले मादी नगरपालिकाले कृषिमा लिएको पहलकदमी प्रशंसनीय भएको बताउँदै, “संखुवासभा जिल्लालाई प्रतिनिधित्व गर्ने गरी मादीले उदाहरणीय कार्य गरिरहेको छ,” भन्नुभयो। उहाँले राष्ट्रिय धान दिवसको दिन सरकारी विदाको व्यवस्था हुनुपर्नेमा पनि जोड दिनुभयो।
नगरप्रमुख जीवन लिन्थेपले पनि आगामी वर्षदेखि धान दिवसको दिन स्थानीय विदा दिने घोषणा गर्दै, “धान दिवसजस्ता कार्यक्रममा आपसी सद्भाव र भाइचाराको सम्बन्ध बलियो बन्ने विश्वास लिएको छु,” भन्नुभयो।
कार्यक्रममा प्रदेश सभा सदस्य विदुर कुमार लिन्थेप, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल, विभिन्न पालिकाका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले धान खेतीमा अपार सम्भावना रहेको भन्दै प्रविधि मैत्री खेती प्रणालीमार्फत उत्पादन वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
धेरै किसान सहभागी उक्त कार्यक्रममा परम्परागत शैलीमा रोपाइँसमेत गरिएको थियो, जसले स्थानीय संस्कृतिको जगेर्ना र कृषि प्रति उत्साह थपेको देखिएको छ।


