इटहरी । धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनः निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । वर्षायाम सुरू भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ । धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०१७ मा ब्रिटिस घोपा क्याम्प जान सहज होस् भनेर निर्माण गरिएको सो पुल अहिले पूर्णरूपमा भत्किएको छ । मदन भण्डारी राजमार्ग निर्माणका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गर्दा पुल भत्किएको उहाँको भनाइ छ ।
धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताउनुभयो । उहाँले चाँडै पुल पुनःनिर्माणको प्रक्रिया सुरु गरी स्थानीयको समस्या समाधान गर्ने प्रयास भइरहेको बताउनुभयो । मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार २०८० मा सडक कालोपत्रे गर्दा पुल ठीकठाक देखिएपछि त्यहीँमाथि कालोपत्र गरिएको थियो । तर कल्भर्टमा प्रयोग गरिएको फलाम पुरानो भई खिया लागेकाले भाँचिएको उहाँले बताउनुभयो । कल्भर्ट भाँचिएपछि अस्थायी रूपमा बनाइएको बाटो पनि पुनः बाढीले बगाएपछि साना सवारी र टेम्पो सञ्चालन गर्न मिल्ने गरी साइडबाट अस्थायी फलामको पुल बनाइएको उहाँले जानकारी दिनुभयो । स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि नयाँ पुल निर्माण सुरू गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार पुल निकै पुरानो भएकाले त्यसको लागत र विवरण अभिलेखमा छैन । हालैको बाढीले खहरे खोलामा भित्री कटान बढाएपछि स्थानीयमा थप त्रास फैलिएको उहाँको भनाइ छ । खोलाले धेरै कटान गरिसकेको छ । नयाँ पुल निर्माण अत्यावश्यक छ । अध्ययन गरेर निर्माण गर्नुपर्छ र त्यसका लागि केही समय लाग्न सक्ने, इन्जिनियर खड्काको भनाइ छ । धरान बजार क्षेत्रका ढल खहरेमा मिसिने भएकाले बर्खामा पानीको बहाव अत्यधिक हुने र खहरेको धार परिवर्तन भई बस्तीमा पस्न सक्ने स्थानीयको चिन्ता छ । स्थानीयले पुलको पुनःनिर्माणमा शीघ्रता अपनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरिरहेका छन् । पुल निर्माणमा ढिलाइ हुँदा जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ ।


