इटहरी । केही वर्ष अघिसम्म बिहान सबेरै उठेर आधा घण्टाको उकालो ओरालो हिँडेर कुवाबाट पानी ल्याउनु धुपुकी मञ्जु शर्माको दैनिकी थियो । दैनिक दुई घण्टा खानेपानीको जोहोमै बित्ने गर्थ्यो । तर अहिले उहाँ घरकै आँगनमा जोडिएको धाराबाट सजिलै पानी प्रयोग गर्न सक्नुहुन्छ । नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको सहयोगमा सञ्चालन गरेको ‘एक घर, एक धारा’ परियोजनाले धुपुलगायतका स्थानीयवासीको जीवनमा ठुलो परिवर्तन ल्याएको छ । रेडक्रस सङ्खुवासभाको पहलमा सभापोखरी गाउँपालिका – १ र २ नम्बर वडाका विभिन्न टोलका करिब सात सय २८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । तीमध्ये हालसम्म चार सय घरमा धारा निर्माण भई सञ्चालनमा आइसकेको छ ।

स्थानीय बासिन्दा केदार अधिकारीले विगत सम्झिँदै भन्नुभयो, “पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्थ्यो, अहिले घरमै धारा जडान भएपछि बिहान–बेलुकै पानी लिन सकिन्छ । नेपाल रेडक्रस सोसाइटीको एक घर एक धारा परियोजनाले उनीहरुको दैनिकी फेरिएको हो । रेडक्रस सङ्खुवासभा शाखाका सभापति सरोजकुमार बज्राचार्यका अनुसार परियोजना सफल बनाउन स्थानीय सरकार, समुदाय र रेडक्रसबिच त्रिपक्षीय साझेदारी गरिएको हो । रेडक्रसले ५० प्रतिशत, सभापोखरी गाउँपालिकाले ३० प्रतिशत तथा समुदायले २० प्रतिशत लगानी गरेको छ । कोरियन रेडक्रसको वित्तीय तथा प्राविधिक सहयोगले यस परियोजना सम्भव भएको सभापति बज्राचार्यले बताउनुभयो । यो परियोजना सम्पन्न गर्न कुल तीन करोड ८२ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । अन्य वडामा पनि परियोजना विस्तारको तयारी गरिरहेको रेडक्रसले जानकारी दिएको छ ।

   धुपुका ३ वटा मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको हो । प्रयोगकर्ताले मासिक ५० रुपियाँ तिर्छन् । जसबाट मर्मत तथा सञ्चालनका लागि कर्मचारीको व्यवस्था गरिएको छ । परियोजना दीर्घकालीन र दिगो बनाउने उद्देश्यले स्थानीय युवाहरुलाई पम्प जडान, पाइप मर्मत र अन्य प्राविधिक तालिम दिइएको छ । स्थानीय युवाहरुलाई सीप प्रदान गरिएकाले भविष्यमा नियमित मर्मत सम्भव हुने विश्वास गरिएको छ ।