इटहरी | पूर्वी नेपालका युवामाझ लोकप्रिय बन्दै गएको खेल 'आर्म रेस्लिङ'लाई औपचारिकता दिँदै नेपाल तरुण दल इटहरी नगर समितिले पहिलोपटक इटहरीमा भव्य ‘आर्म रेस्लिङ किंग इटहरी’ प्रतियोगिता सुरू गरेको छ। प्रतियोगिता मंगलबार (असार १७) देखि इटहरीको प्रतिष्ठित खेलस्थल क्लब के मा सुरु भएको हो।

कार्यक्रमको उद्घाटन नेपाल तरुण दल इटहरी उपमहानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता र नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य सिजन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

प्रतियोगिताका विजेताले नगद रु. १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु. ४० हजार र तेस्रो हुनेले रु. २० हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ। नगद पुरस्कारसँगै प्रमाणपत्र र ट्रफीको व्यवस्था समेत गरिएको छ, जसले प्रतियोगीहरूको हौसला अझ बढाएको छ।

प्रतियोगितामा पूर्वी नेपालका विभिन्न ठाउँबाट आएका एक सयभन्दा बढी युवाहरूको सहभागिता रहेको छ। उनीहरूबीच विभिन्न तौल समूहमा प्रारम्भिक चरणका प्रतिस्पर्धा सम्पन्न भइसकेका छन्। छनौट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीहरूबीच अन्तिम प्रतिस्पर्धा असार २१ गते हुने आयोजकले जनाएको छ।IMG-20250701-WA0041

कार्यक्रमका संयोजक संजय बुढाथोकीका अनुसार, यो प्रतियोगिता केवल खेलका लागि मात्र नभई युवालाई खेलकुदमार्फत अनुशासन र मर्यादातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। नेपाल तरुण दल इटहरी उपमहानगर अध्यक्ष अनीश सुवेदीले युवाहरूमाझ बढ्दो लागुऔषध दुव्र्यसनको चुनौतीलाई मध्यनजर गर्दै यस्तो कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

“खेलकुद युवाहरूलाई केवल व्यायाम वा प्रतिस्पर्धाको माध्यम मात्र होइन, बरु आत्मविकास र समाजप्रति उत्तरदायित्व महसुस गराउने महत्वपूर्ण साधन हो,” अध्यक्ष सुवेदीले भने। “हामीले आशा गरेका छौं कि यस्ता कार्यक्रमले युवा पुस्तालाई सही मार्गमा हिँड्न प्रेरित गर्नेछ।”IMG-20250701-WA0046

उद्घाटन कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष गोपाल राई (कालुराम), नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य तथा नेपाल तरुण दल सविभाग संयोजक प्रकाश बस्नेत, नेपाल तरुण दल सुनसरीका उपाध्यक्ष दिलकुमार राई लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।IMG-20250701-WA0042

सुनसरीमा पहिलोपटक यति ठुलो पुरस्कार राशी र व्यवस्थापनसहित आयोजना गरिएको आर्म रेस्लिङ प्रतियोगिताले स्थानीय तहमा खेलकुदप्रति बढ्दो चासो र युवा सहभागिताको संकेत दिएको छ। आयोजकहरूको भनाइमा, आगामी दिनमा यो प्रतियोगिता वार्षिक रुपमा आयोजना गर्दै अझ व्यापक बनाउन योजनाहरू अगाडि बढाइनेछ।