इटहरी  । विराटनगरका एक जना व्यवसायीलाई मूल्य अभिवृद्धि कर भ्याट छलेको अभियोगमा कारागार चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘न्यु सौरभ ट्रेडिङरबियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ का प्रोप्राइटर सौरभकुमार बियानीलाई भ्याट छलेको आरोपमा माग गरिएको एक अर्ब ३१ करोड ६४ लाख रुपियाँ धरौटी बुझाउन नसकेपछि थुनामा पठाएको हो । विराटनगर–१० स्थायी ठेगाना भएका बियानीको विराटनगर–७, हाटखोलामा हार्डवेयर व्यवसाय सञ्चालनमा थियो । बियानीलाई भ्याट छलेको रकम र त्यसको बिगो बराबरको रकम जोडेर धरौटी माग गरिएको कार्यालयले जनाएको छ । विराटनगरमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका बियानीको नाममा असार १६ गते सोमबार अपराह्न आन्तरिक राजस्व कार्यालयले थुनुवा पुर्जी जारी गर्ने गरेको थियो । कार्यालयका कर अधिकृत भवानीप्रसाद दाहालको हस्ताक्षरमा जारी भएको थुनुवा पुर्जीमा बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको अभियोगमा भएको आदेश अनुसार नगद वा जेथा जमानी बुझाउन नसकेपछि थुनामा राख्न थुनुवा पुर्जी जारी गरिएको उल्लेख छ ।  बियानीलाई कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ ९घ० बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय, मोरङलाई पत्राचार गरेको हो ।  आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्यका अनुसार यो विराटनगरका लागि पहिलो घटना हो । कारागार चलानका घटना हालसम्म भएको थिएन । व्यापारी बियानीले वस्तु तथा सेवाको कारोबार नै नगरी नक्कली भ्याट बिल जारी गरेर राजस्व छली गरेको देखिएको हो । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयले गलत कारोबार खडा गरेर नक्कली बिल जारी गरेर क्रेडिट दाबी गर्ने अनि बैङ्कबाट ऋण लिने गरेको सूचना पाएपछि अनुसन्धान सुरु गरेको थियो । व्यापारी बियानीको कारोबार शङ्कास्पद देखिएपछि आर्थिक वर्ष २०७९र८० देखि २०८१र८२ सम्मको अनुसन्धान गरिएको हो । त्यस क्रममा नक्कली बीजक जारी गरेर ८६ करोड रुपियाँ भ्याट छली भएको पाइएको हो । यसै गरी नक्कली कर दाबी गरेबापत २२ करोड छली भएको देखिएको छ । यसरी झुटा कारोबार गरी झुटा कर दाबी गरेको आरोपमा ठहर भएको जरिबाना र त्यसको बिगोसमेत गर्दा एक अर्ब ३१ करोड ४६ लाख ९४ हजार असुल गर्नुपर्ने ठहर भएको हो ।