इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार तथा ग्रामिण क्षेत्र तथा बजारहरुमा अनुगमनलाई तिब्र पारेको छ । पालिकाको बजार अनुगमन टोलीले पालिका भित्रका सबै खाले पसलमा अनुगमन गरेको हो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको नेतृत्वमा नगरपालिका भित्रका बजार क्षेत्रहरुमा अनुगमनलाई तिब्रता दिएको हो । बजार अनुगमन टोलीले एक महिना यता नगरको मुख्य बजारहरु बेल्टार, हडिया, शिवाई, बसाहा, बिरेन्द्रबजार क्षेत्र र ग्रामिण भेगमा रहेका पसलहरुमा समेत अनुगमन गरेको छ । अनुगमन टोलीले पालिका भित्रका किराना पसल, औषधी पसल, होटल लगायत सबै ब्यबसायमा छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा पाइएका म्याद नाघेका झन्डै ४१ हजार बढीका समानहरु जफत गरि नष्ट गरिएको छ । पालिकाको बेल्टार बजारमा संचालित सन एण्ड विष्णु मेडिकल हल एण्ड पोलिक्लिनिकलाई अनुमति बिनै संचालन गरिएकोमा अनुगमन टोलीले सिल गरेको छ भने उक्त मेडिकल हललाई ५ हजार जरिवाना समेत गरिएको छ । अनुगमन टोलीले चौदण्डीगढी ३ स्थित गुप्ता किराना पसललाई २ हजार, सोही ठाउँको होटल युमालाई ५ हजार, चौदण्डीगढी ४ स्थित दर्ता बिना संचालित रेनुका राई र सम्झना राईको पसललाई २ हजार र १५ सय जरिवाना गरिएको छ भने चौदण्डीगढी ५ को घिमिरे किराना पसललाई ५ हजार, चौदण्डीगढी ५ कै आरुष किराना पसललाई ३ हजार जरिवाना गरिएको छ । अनुगमन टोलीले केही पसलहरूलाई चेतावनी दिएको छ । अनुगमन टोलीले कानुन सम्मत रुपमा दर्ता नभएको र म्याद गुज्रिएको समान बेचबिखन गरे नगरेको चेकजाँच गर्ने गरेको चौदण्डीगढी नगरपालिका सामाजिक शाखा प्रमुख नवराज बाराले जानकारी दिनु भयो ।

