इटहरी | "जहाँ आवश्यकता, त्यहाँ लायन्स" भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ ईटहरी क्रिएटिभ लेडीले लायन्स वर्ष २०२५–२६ को दोस्रो दिन ऐतिहासिक कार्यको सुरुवात गरेको छ। समाजमा बालबालिकाको स्वास्थ्य र व्यक्तिगत सरसफाइप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले क्लबले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा अवस्थित जनता माध्यमिक विद्यालयमा छात्र र छात्राहरूको लागि छुट्टाछुट्टै शौचालय तथा स्वच्छ खानेपानीको सुविधा सम्पन्न संरचना निर्माण गर्ने कार्यको शिलान्यास गरेको हो।

उक्त शिलान्यास कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरिएको थियो, जसको प्रमुख आतिथ्य लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का गभर्नर लायन बाबरजङ्ग थापा PMJF रहनुभएको थियो। प्रमुख अतिथिको उपस्थितिमा गरिएको शिलान्यासले समुदायमा लायन्स क्लबको सामाजिक उत्तरदायित्व र जनसेवा प्रति प्रतिबद्धता झल्काएको थियो।

कार्यक्रममा क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईले स्वागत मन्तव्य दिंदै विद्यालयको भौतिक पूर्वाधार निर्माणमा क्लबको योगदानले छात्रछात्राको व्यक्तिगत सरसफाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।  कार्यक्रममा सहभागी सबैले यस किसिमको संरचना निर्माणले विद्यालयको समग्र वातावरण सुधारमा टेवा पुग्ने कुरामा एकमत व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले क्लबप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक सहयोग कार्यमा निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। साथै, प्रमुख अतिथि लायन बाबरजङ्ग थापाले लायन्स संस्था सामाजिक सेवाको पर्यायवाची भएको उल्लेख गर्दै बालबालिकाको शिक्षासँगै सरसफाइमा सुधार ल्याउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमलाई अझ प्रभावकारी बनाउन क्लबका विभिन्न पदाधिकारीहरू, लायन्स लिडरहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकगण, स्थानीय जनप्रतिनिधिहरू तथा विद्यालयका विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।