पाँचथर | विनाशकारी बाढीले मध्यपहाडी राजमार्ग अन्तर्गत ठाडो खोलामा रहेको पक्की पुल बगाएपछि ओयाम क्षेत्रका सर्वसाधारण तथा विद्यार्थीहरू आवतजावतमा समस्यामा परेका छन्। यही समस्यालाई मध्यनजर गर्दै नेपाल तरुण दल याङवरक गाउँपालिका–३ कार्य समितिले अस्थायी काठे पुल निर्माण गरेको छ।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री ‘युगपुरुष’ गिरिजाप्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसर पारेर आयोजित श्रमदान कार्यक्रमअन्तर्गत करिब २५ फिट लामो र करिब १ लाख १८ हजार रुपैयाँ बराबरको काठे पुल निर्माण गरिएको हो। उक्त पुल निर्माण कार्यमा ओयामका सक्रिय युवा तथा अग्रजहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाल तरुण दल याङवरक–३ का अध्यक्ष अमृत लिम्बूले श्रमदान कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सबैमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अस्थायी पुलले ओयाम वडा नं. १ र २ का स्थानीयवासी तथा श्री गुप्तेश्वर माविमा अध्ययनरत विद्यार्थीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस कार्यको प्रशंसा गर्दै नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले याङवरक–३ वडा कार्यसमितिलाई धन्यवाद दिँदै यस्ता रचनात्मक र जनहितका कार्यमा विश्वास रहेको बताउनुभयो।
पुल निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूमा रेडक्रस सोसाइटी ओयाम, अस्थायी प्रहरी चौकी ओयाम, विक्रम सेलिङ (ट्र्याक्टर सहयोग), रन बा. गुरुङ (प्लाइबोर्ड), शिव पोखरेल (खाजा खर्च रु १,१६०), धनेन सेलिङ (रु १,५००), डिल्ली ओली (रु १,०००), चन्द्रकुमार योङया (रु १,५००), बबिन चौहान (रु १,०००), किरण न्यौपाने (रु ५००), तथा ओयाम कन्ट्रक्सनका शैमेन्द्र, राजिव र नरेश (रु ९,००० बराबरको निर्माण सामग्री) प्रमुख रहेका छन्।
यस्तै, सबिन गुरुङ, सिर्जना राई, मिना राई, रेनुका सेलिङले श्रमिकहरूलाई स्प्राइट, कोकजस्ता पेय पदार्थ सहयोग गरेका थिए।
स्थानीय जनस्तरबाट सञ्चालन गरिएको यस खालको सामुदायिक पहलले विपद्का बेला पनि सहकार्य र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेको जनाइएको छ।

