इटहरी | लायन्स साप्ताहिक कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रमको रूपमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले इटहरी–१, धरहरा चोकमा वृक्षारोपण कार्यक्रम गरेको छ।

कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथि इटहरी वडा नम्बर १ का  वडाध्यक्ष  रतन कार्कीको उपस्थितिमा गरिएको थियो ।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रतन कार्कीले बिरुवाहरूको सौजन्य प्रदान गर्नुका साथै आवश्यक समन्वय र प्रोत्साहन प्रदान गर्नुभयो। 

वृक्षारोपणलाई वातावरणीय सन्तुलन कायम राख्ने एउटा महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै जनस्तरमा यसको महत्वबारे जागरूकता फैलाउनुपर्नेमा जोड दिएको क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईले जानकारी दिनु भयो ।

लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक, शैक्षिक तथा वातावरणीय कार्यक्रमहरू गर्दै आइरहेको छ। 

कार्यक्रममा Environment Chief लायन अजय अधिकारी, लायन्स District Chief, GAT Area Chief, टोल विकास संस्थाका अध्यक्षहरू, क्लबका निवर्तमान तथा पूर्व अध्यक्षहरू, साथै क्लबमा विभिन्न पदमा कार्यरत सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।