इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट बरगाछीको टोलीले हिजो (बिहीबार) साँझ ५ः५५ बजे उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा हाल धरान–१५ विशाल चोकमा बसोबास गर्दै आएका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का २६ वर्षीय दिवस राई र धरान–१५ महादेव चोकका २९ वर्षीय बिसन श्रेष्ठ रहेका छन्। उनीहरूको साथबाट ४६० मिलिग्राम (चार सय साठी मिलिग्राम) लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।


