इटहरी । सर्वोच्च अदालतको निर्णयसँगै ओखलढुङ्गाको लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माणसम्बन्धी लामो समयदेखिको विवाद अन्ततः टुङ्गिएको छ । सर्वोच्चले दायर मुद्दा खारेज गरेसँगै भवन गाउँपालिकाको वर्तमान कार्यालय रहेको चुवाडाँडामै निर्माण हुने निश्चित भएको हो । प्रशासनिक भवन कहाँ बनाउने भन्ने विषयमा विगत करिब पाँच वर्ष देखी निरन्तर विवाद हुँदै आएको थियो । तत्कालीन गाउँपालिका अध्यक्ष गोविन्द पौडेलको कार्यकालमा वडा नं। ५ मा करिब १० रोपनी जग्गा खरिद गरिएको थियो । तर सो स्थानमा भवन बनाउने विषयमा कार्यपालिका बैठकबाट निर्णय नभएपछि विवाद चर्किएको हो । त्यसपछिको कार्यकालमा गाउँपालिकाले हालको कार्यालय चुवाडाँडामै भवन निर्माणको तयारी अघि बढाएको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै केही स्थानीयले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा मुद्दा दायर गरेका थिए ।

अदालतले गाउँपालिकाको पक्षमा फैसला गर्दै भवन चुवाडाँडामै बनाउन मिल्ने निर्णय गरेको थियो । त्यसको आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षको गत वैशाख २६ गते भवनको शिलान्यास गर्दै निर्माण कार्य अघि बढाएको थियो । तर नाम अर्कै स्थानको देखाएर भवन चुवाडाँडामा बनाइएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा पुनः मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यही असार ८ गते बहस सुनेपछि असार १८ गते उक्त मुद्दा खारेज गर्ने फैसला सुनाएको हो । अदालतको निर्णयसँगै अब भवन निर्माणमा कुनै कानुनी अड्चन नरहेको गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार भवनको हाल निर्माण कार्य सुरु भइसकेको छ ।

भवन निर्माणको जिम्मा पाएको आरोहण बिल्डर्सले चार करोड ३२ लाख ७७ हजार ६५३ रुपियाँ ५२ पैसामा ठेक्का लिएको छ । परियोजना स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६० प्रतिशत सङ्घीय साझेदारी र ४० प्रतिशत गाउँपालिकाको लगानीमा निर्माण हुँदैछ । निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।