इटहरी | इटहरीको आपगाछीदेखि बरगाछीसम्म सडकको बीच भागमा सरसफाइ तथा फुलको बिरुवा रोप्ने कार्य गरिएको छ।
इटहरीदेखि तरहरासम्मको बीचभागमा रहेको डिभाइडरमा बाक्लो र ठूलो मात्रामा उम्रिएको घाँसका कारण सडक यात्रु तथा सवारीसाधनलाई बाटो पार गर्न असहज र असुरक्षित भएको जनगुनासो आए पछि आपगाछीदेखि बरगाछीसम्म स्थानीय टोल विकास संस्थाहरूसंगीत प्रतिष्ठान टोल विकास संस्था, आदर्श टोल विकास संस्था, मनकामना भोजन कीर्तन समूह, ससङ, भजन कीर्तन समूह तथा दुर्गा देवी भजन कीर्तन समूहको संयुक्त आयोजना र समन्वयमा सडक खण्डमा सरसफाइ तथा फूलका बिरुवाको वृक्षारोपण गरिएको छ।
सरसफाइ अभियान अन्तर्गत सडकको बीच भागमा रहेको डिभाइडरमा उम्रिएको बाक्लो घाँस सफा गरिएको थियो। त्यसपछि सफा गरिएको ठाउँमा फूलका विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् ।
संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकास भण्डारीले यस अभियानले समुदायमा स्वस्फूर्त सेवा भाव र वातावरणप्रतिको उत्तरदायित्व झल्काउने बताएका छन्। उनका अनुसार, "शहर सफा राख्ने जिम्मेवारी केवल स्थानीय सरकारको मात्र होइन, हामी सबैको साझा दायित्व हो। यस्तो सामूहिक प्रयासबाट हामीले इटहरीलाई अझ व्यवस्थित, सफा र हरित शहर बनाउने दिशामा सकारात्मक सन्देश प्रवाह गर्न सकेका छौं।"
सहभागीहरूले झारपात हटाउने, मलखाद हाल्ने, गमलामा बिरुवा राख्ने लगायतका कार्यमा हातेमालो गरेका थिए।
उक्त अभियानमा प्रहरी चौकी तरहराको समेत सक्रिय सहकार्य रहेको थियोे । सुरक्षाको दृष्टिले सहज व्यवस्थापन गर्न प्रहरीको उपस्थितिले कार्यक्रम सफल बनाउन सहयोग पुगेको हो।स्थानीय स्तरमा यस्ता अभियान निरन्तर भइरहँदा समुदायमा सफाइप्रतिको चेतना बढ्ने, स्वयंस्फूर्त सहभागिता विकास हुने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।


