इटहरी । निर्माणको काम कसरी गर्ने भन्ने कुराको उदाहरण यस पटक इलाममा निर्माण गरिएका दुुई वटा बेलिब्रिजका निर्माण कम्पनीले देखाइदिएका छन् । मेची राजमार्ग अन्तर्गत राजदुवाली–भन्ज्याङ सडकखण्डको वैकल्पिक सडकका रूपमा लिइएको केचना–कञ्चनजङ्घा (फास्ट ट्र्याक) अन्तर्गत पुवाखोलामा निर्माण गरिएको बेलिब्रिज र राजमार्गको सिमल गोलाइ–तिल्केनी सडकबिच पर्ने जोगमाईखोलामा निर्माण भएको बेलिब्रिज करिब तीन महिनाभित्र निर्माण सम्पन्न भएका हुन् । उदयपुरको राउत–चौधरी निर्माण कम्पनीले जोगमाईखोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण गरेको हो । यो पुुलबाट १० टनभन्दा साना सवारी सञ्चालन हुन सक्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । 

यस्तै फास्ट ट्र्याक अन्तर्गत पुवाखोलामा सागर शुुभारम्भ एलिसा जेभीले एक करोड ३५ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण सम्पन्न गरेको हो । यो पुलबाट २५ टनभन्दा कमका सवारी आवतजावत गर्न सक्ने क्षमता रहेको जनाइएको छ । गत कात्तिकमा परेको वर्षापछि मेची राजमार्ग अन्तर्गत राजदुवालीस्थित माइखोलामाथिको भाग पहिरोका कारण अवरुद्ध बनेपछि स्थायी रूपमा यातायात सञ्चालन गराउन फास्ट ट्र्याक र सिमल गोलाइ–तिल्केनी सडकलाई आवश्यक मर्मत तथा कालोपत्रेको काम थालिएको थियो । यी सडकमा पर्ने ठुला खोला पुवा र जोगमाईमा बेलिब्रिज लगाउने काम गरिएको हो । दुवै सडकमा पुुल बने पनि सडक निर्माण भने अति नै सुस्त रहेको छ । फास्ट ट्र्याक अन्तर्गत बेलासे–राकसे–भन्ज्याङ सडकको काम चार वर्ष बित्दा पनि सकिएको छैन । २०७८ असार २९ गते  निर्माण सम्झौता भएको यहाँको सडकको काम सक्ने मिति २०८० पुस २९ गते रहेको थियो ।

तोकिएको मितिमा काम नसकिएपछि पुनः २०८२ असार १८ गते सक्ने गरी ठेकेदार कम्पनी खड्का कृष्ण सक्षम जेभी काठमाडौँलाई समय थप गरिएको थियो तर थपिएको समय बित्दा पनि ४२ प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । यो सडकखण्डमा कुल लागत २७ करोड २१ लाख ५३ हजार रुपियाँको ३९।१८ प्रतिशत वित्तीय प्रगति रहेको जनाइएको छ । उहाँका अनुसार अब ठाडेखोलामा बन्दै गरेको बक्स कलभर्ट पनि निर्माण सकिने चरणमै छ तर भरपर्दो सडक नहुँदा यो वर्ष पनि यातायात सञ्चालनमा कठिनाइ हुने हो कि भन्ने चिन्ता बढेको छ । तोकिएको समयभित्र काम नगर्ने र माथिबाटै मिति थपिने नीति संशोधन भइरहने कारणले पनि सडक निर्माणमा ढिलाइ हुने गरेको हो । यता सिमल गोलाइ–तिल्केनी सडकमा पनि काम सक्ने समय सकिएको छ । २०८२ वैशाख १९ गते ठेक्का सम्झौता रहेको यो सडकको २०८२ असार २० गतेभित्र काम सक्नुपर्ने थियो । 

पूर्वाञ्चल नेपाल सिंग जेभीले ठेक्का लिएको यो सडकमा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । कुल लागत तीन करोड ४६ लाख १४ हजार ३८८ रुपियाँ रहेको यो सडकमा अहिलेसम्म १९।५५ प्रतिशत वित्तीय प्रगति रहेको डिभिजन कार्यालयले जनाएको छ । यो सडकमा सात किलोमिटर ग्राभेल, एक किलोमिटर सोलिङ, पाँच स्थानमा ह्युमपाइप र साँघुरो गोलाइ चौडाको काम रहेको छ । यी दुवैतर्फका सडकको काम तत्काल नसकिए यस पटक हुने आकासे वर्षाको प्रभाव पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुुङमा  पर्ने छ । गत वर्ष नै मेची राजमार्गको राजदुवालीमाथिको सडकमा यातायात अवरुद्ध बनेपछि अहिले अस्थायी रूपमा मात्र यहाँ यातायात सञ्चालन भइरहेका छन् ।