इटहरी । अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न मोरङको सुनबर्सी–८, कुरेलीमा निर्माण भएका घरमा विपन्न परिवारलाई अझै सार्न सकिएको छैन । विसं २०७६ मा निर्माण सुरु भएका घरहरू पाँच वर्षपछि गत वर्ष निर्माण सम्पन्न भएका हुन् तर कोशी प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय र स्थानीय तहबिच समन्वय नहुँदा विपन्न परिवार नयाँ घरमा सर्न पाएका छैनन् । सहरी विकास तथा भवन कार्यालय विराटनगरका जनता आवास कार्यव्रmम शाखाका इन्जिनियर ओमप्रकाश शर्माका अनुसार घरहरू गत वर्ष नै निर्माण सम्पन्न भएका हुन् ।

पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार भने आफूलाई सरकारले घरको न घाटको बनाएको आरोप लगाउँछन् । पक्की घर बन्छ र उतै सरौँला भन्ने आसले भएको छाप्रो भत्काएको बताउने उनीहरूले छ वर्ष बित्न लाग्दासम्म घर सर्न नपाएको बताएका छन् । न उनीहरूको राजनीतिक पहुँच छ न आफ्नै खर्चले घरसम्म जाने सडक, बिजुलीबत्ती र शौचालय बनाएर नयाँ घरमा सर्ने आर्थिक हैसियत छ । पक्की घरमा बस्न पाइने भएपछि उनीहरूले प्रतिपरिवार पाँच÷पाँच हजार रुपियाँ पनि तिरे । घर निर्माणका लागि प्रतिघर तीन लाख ३२ हजार पाँच रुपियाँ विनियोजन भएको सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख सुरेशप्रसाद साहले बताउनुभयो तर सुनबर्सी नगरपालिका–८ का वडाध्यक्ष अनुवार मियाँका अनुसार सम्झौतामा घरसँगै २० वटा शौचालय र २० वटा ट्युबेलसहित दुई÷दुईकोठे घर निर्माण गर्नुपर्ने थियो तर हालसम्म घर मात्र बनेका छन् । घरसम्म पुग्ने सडक छैन । गहिरो भागमा रहेको पैनीको किनारमा घर बनेकाले घरहरू डुबेका छन् ।

सडक नभएपछि ती घरसम्म बिजुली पु¥याउन सकिएको छैन । स्थानीय कैलु ऋषिदेवले आफ्नो समुदायका मानिसलाई समन्वय नगर्दा घर सर्ने काम अघि नबढेको मियाँले आरोप लगाउनुभयो । मियाँका अनुसार कैलुले २० वटा घर भएको स्थानमा पाँच बिघा जग्गा ऐलानी भएको र उक्त जग्गा ऋषिदेवलाई नै भोगचलन गर्न दिनुपर्ने माग गर्नुभएको छ । कैलु ऋषिदेव समुदायका अगुवा मानिनु हुन्छ । उक्त जग्गा बेलाल मियाँ र ताहिर मियाँ (सानो) ले भोगचलन गरिरहनुभएको छ । सरकारी जग्गामा सहरी विकासले घर बनाउन खोज्दासमेत प्रतिपरिवार पाँच÷पाँच हजार रुपियाँ दिएका ऋषिदेवहरूले जग्गा भोगचलनको माग राखिरहने हो भने उनीहरूको सुरक्षित आवासमा सर्ने सपना पूरा हुन सक्ने छैन । किनकि बेलाल र ताहिर उक्त जग्गा चार÷पाँच पुस्ताअघि बाबुबाजेबाट आफूमा सर्दै आएको दाबी गर्नुहुन्छ ।