इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको ३० औं स्थापना दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विद्यालय तथा बाल विकास केन्द्रहरूमा सरसफाइ सामग्री वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका–३ मा सम्पन्न उक्त कार्यक्रम वडा उपभोक्ता समितिकी संयोजक अनिता राईको अध्यक्षता र संस्थाका कार्यसमिति सदस्य मनोज कुमार राय प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा परिषद्का पदाधिकारी तथा सदस्यहरू, प्रगति बाल विकास केन्द्र र सुनौलो बाल विकास केन्द्रका शिक्षिका, सिङ्हदेवी प्राथमिक विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति सदस्यहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वास्थ्य, शिक्षा तथा सरसफाइ कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा सरसफाइ सामग्रीहरू वितरण गरिएका थिए । वितरण गरिएका सामग्रीमा ठूला डस्टबिन ३ थान, कुचो १५ थान, खरेटो १५ थान, फोहोर संकलन पाना १५ थान, पञ्जा  १ सय थान र साबुन २१ थान रहेका छन् ।  यी सामग्रीहरू दुई बाल विकास केन्द्र र एक प्राथमिक विद्यालयमा वितरण गरिएको हो । संस्थाका कार्यसमिति सदस्य मनोज कुमार रायका अनुसार यस किसिमका कार्यक्रमले बालबालिकामा सरसफाइको महत्वबारे चेतना जागृत गर्ने विश्वास लिइएको छ । कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूले इटहरी खानेपानी उपभोक्ता संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको यो पहलको प्रशंसा गरेका थिए । कार्यक्रम सफल, सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा आयोजक संस्थाले सम्पूर्ण सहभागी तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेको छ ।