भोजपुर | उद्योग वाणिज्य सङ्घ भोजपुरको नयाँ अध्यक्षमा बद्रि कुमार श्रेष्ठ विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा श्रेष्ठले प्रतिस्पर्धी उम्मेदवार निर कुमार विश्वकर्मालाई ४६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पद हात पार्न सफल भएका हुन्। श्रेष्ठले कुल १५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी विश्वकर्माले ११२ मत पाएका थिए।
त्यसैगरी, प्रथम उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ विजयी भएका छन्। उनले १६६ मत प्राप्त गरी प्रतिस्पर्धी प्रविण कुमार सुवाललाई ७३ मतको अन्तरले पराजित गरे। द्वितीय उपाध्यक्षमा बद्रि कुमार श्रेष्ठले १४८ मत प्राप्त गर्दै जित हासिल गरे। महासचिव पदमा विन्द्र कुमार राई १४० मतसहित निर्वाचित भए भने सचिवमा स्वतन्त्र उम्मेदवार विमल रणपहेली ११३ मत प्राप्त गर्दै विजयी भए। कोषाध्यक्षमा जीवन कुमार श्रेष्ठले १४९ मत ल्याउँदै निर्वाचन जिते।
सदस्य पदतर्फ अनिल कुमार बराइली, पारस तामाङ, राजेश कुमार श्रेष्ठ, लाल बहादुर विश्वकर्मा, लेखराज श्रेष्ठ, ज्ञान बहादुर कार्की, अनिता राई, उर्मिला थापा र शान्ता कुमारी राई निर्वाचित भएका छन्। तिनीहरूले क्रमशः ११७, १६९, १२३, १४३, १४९, १५४, ११९, १४३ र १६१ मत प्राप्त गरेका थिए।
निर्वाचन पश्चात् नवनिर्वाचित अध्यक्ष बद्रि कुमार श्रेष्ठले तीन वर्षे कार्यकालमा उद्योगी, व्यापारी तथा व्यवसायीहरूको हक, हित र सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उद्योग, व्यापार तथा व्यवसायमा देखिने समस्याहरू समाधान गर्न आफू दृढताका साथ जुट्ने उनको भनाइ छ।
