इटहरुी । धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन वा भिडियो कलमार्फत स्वास्थ्य उपचार गर्न सुरु गरिएको हो । विशेषज्ञ डाक्टरले परामर्श, प्राथमिक उपचारसम्बन्धी जानकारी, रोग निदानको परामर्श, औषधीसम्बन्धी सल्लाहलगायतका स्वास्थ्य सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । यो सेवामार्फत बिरामीले डाक्टरलाई भेटे जसरी नै लाइभ भिडियोमार्फत विशेषज्ञ डाक्टरसमक्ष समस्या राख्छन् । अनि डाक्टरले सबै कुरो बुझेर औषधी वा थप उपचारको सिफारिस गर्ने गर्दछन् ।

हप्तामा एक दिन मात्र उपलब्ध गराइने सो सेवा प्रत्येक बुधबार सञ्चालन हुने छ । दीर्घरोगी, नियमित औषधी प्रयोगकर्तालगायतका बिरामी नियमित अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने सहरी स्वास्थ्य क्लिनिक पात्लेले जनाएको छ । दमक समाचारदाताका अनुसार झापाको कमल गाउँपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार दिएको छ । विशेषज्ञ चिकित्सकको सिफारिसमा २२ जना ज्येष्ठ नागरिकलाई कृत्रिम दाँत उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । गाउँपालिकाको सामाजिक विकास शाखाबाट कार्यक्रम सञ्चालन गर्ने गरी चालु आर्थिक वर्षमा नयाँ कार्यक्रमका रूपमा गाउँपालिकाले यो कार्यक्रम ल्याएको थियो ।

कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेका अनुसार कमल गाउँपालिकाका सात वटै वडाबाट कृत्रिम दाँत लगाउने ज्येष्ठ नागरिकको छनोट गरिएको हो । दमकमा रहेको आमा डेन्टलसँग समन्वय गरेर उहाँहरूलाई कृत्रिम दाँत उपहार दिइएको न्यौपानेको भनाइ छ । कमल नगर अस्पतालमा हरेक हप्ताको आइतबार र बिहीबार ओपिडी सेवासहित दाँतसम्बन्धी उपचार तथा परामर्श सेवा प्रदान गर्ने क्रममा कतिपयले दाँत लगाउन आर्थिक अभाव भएको बताएका थिए । त्यही भएर यो कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ ।