इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै छ। यो भवन वैदिक सनातन संस्कृतिको संरक्षण र सामाजिक सेवा दुबै उद्देश्य बोकेर निर्माण गरिएको हो। भवन इटहरी–२ स्थित राजदेवी मन्दिरको छेउमा निर्माण भइरहेको छ।
२०७५ सालदेखि सुरु गरिएको यो योजना हालसम्म जग उठाउने चरणमा पुगेको छ। अब भवनको छत हाल्नुपर्ने कार्य बाँकी छ। निर्माण कार्यलाई अगाडि बढाउन थप आर्थिक सहयोग आवश्यक रहेको भवन निर्माण संयोजक एवं वैदिक कर्मकाण्ड परिषद् नेपाल, सुनसरीका जिल्ला उपाध्यक्ष घनश्याम बरालले जानकारी दिए।
बरालका अनुसार, “यो भवन केवल वैदिक धर्म मान्नेहरूका लागि मात्र होइन, जुनसुकै धर्म, सम्प्रदाय वा पृष्ठभूमिका व्यक्तिहरूका लागि पनि हो। मानिस जीवनमा अप्ठ्यारो परिस्थितिमा पर्न सक्छन्—विशेष गरी परिवारका सदस्यको मृत्युपछि क्रियाकर्म गर्ने स्थान नहुँदा समस्या हुन्छ। यस्तो समयमा सबैले सहज रूपमा प्रयोग गर्न सकून् भनेर यो भवन बनाउँदैछौं।”
भवन निर्माण कार्यमा स्थानीय निकायहरूको समेत सहभागिता देखिएको छ। इटहरी उपमहानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने वडा नम्बर २ बाट थप २ लाख रुपैयाँ उपलब्ध गराइएको छ। तर यो बजेट अपुग रहेको र छत हाल्ने, झ्यालढोका जडान गर्ने, भौतिक संरचना मजबुत पार्ने कामहरूका लागि थप सहयोग आवश्यक रहेको संयोजक बराल बताउँछन्।
उनले सर्वसाधारण, धार्मिक श्रद्धालु, स्थानीय संघसंस्था र समाजसेवीहरूलाई यो सामाजिक कार्यमा हातेमालो गर्न अपिल गरेका छन्। “यसले केवल एक व्यक्तिको होइन, पूरै समाजको पीडामा मल्हम लगाउने काम गर्छ,” बरालको भनाइ छ।
भवन निर्माणको कार्य प्रभावकारी रूपमा अगाडि बढाउन उपभोक्ता समिति गठन गरिएको छ। समितिमा सचिवका रूपमा अर्जुन कोइराला रहेका छन्। कोषाध्यक्ष उमा काफ्ले हुनुहुन्छ । अन्य सदस्यहरूमा गोविन्द कोइराला, , सागर सुवेदी, बाबुराम तिम्सिना, भानुभक्त भट्टराई र शिवनिधि ढकाल रहेका छन्।
सदस्यहरू अनुसार, भवनमा क्रियापुत्रीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारको व्यवस्था गरिनेछ—जस्तै खाना पकाउने स्थान, विश्राम कक्ष, तातो पानी, समाग्री राख्ने कोठा आदि। भविष्यमा यसलाई धर्मशाला वा सामाजिक सेवा केन्द्रका रूपमा समेत प्रयोग गर्ने योजना रहेको छ।
वैदिक कर्मकाण्ड परिषद् सुनसरीका अध्यक्ष विष्णुप्रसाद अधिकारीले समाजमा धार्मिक संस्कार तथा परम्पराको संरक्षण अत्यन्त आवश्यक रहेको बताउँदै भने, “क्रियापुत्री भवनले केवल एक धार्मिक संस्कारको निर्वाह मात्र होइन, सामाजिक सद्भाव, सहयोग र सहअस्तित्वको भावना पनि बोकेको छ। यो भवन सबै धर्म, जात र वर्गका मानिसका लागि साझा सुविधा बन्नेछ।”
उनले थपे, “आजको समयमा धेरैजसो मानिससँग ठाउँ, समय र साधनको अभाव हुन्छ। यस्तो अवस्थामा एक व्यवस्थित, सर्वसुलभ र सबैका लागि खुला भवनको आवश्यकता टड्कारो रूपमा महसुस भएको हो।”
हाल भवनको जग उठाउने काम सम्पन्न भइसकेको छ। अब छत हाल्ने कार्यका लागि स्रोत जुटाउने अभियान चलाइँदैछ। संयोजक घनश्याम बराल र समितिका सदस्यहरूले समुदाय, संघसंस्था, स्थानीय निकाय तथा विदेशमा रहेका नेपालीहरूसँग समेत सहयोगको अपेक्षा गरेका छन्।
“यो भवन केवल एक संरचना होइन—यो मानवीय भावनाको केन्द्र हो, जहाँ दुःखमा परेका मानिसलाई सहारा मिल्नेछ,” संयोजक बराल भन्छन्।
