इटहरी । उदयपुर र सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक युवकको शव खोजीका क्रममा फेला परेको छ।
बुधबार बिहान करिब ८ बजे उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोशी पुलबाट सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज श्रेष्ठले पुलमाथि आफ्नो साइकल, चप्पल र मोबाइल फोन राखेर सप्तकोशी नदीमा हाम फालेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए ।
\घटनाको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा रबर बोटसहित १० जनाको टोली, सुरक्षा बेस रामपुर उदयपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमाण्डमा १० जनाको टोली तथा इलाका प्रहरी कार्यालय चतरा र प्रहरी चौकी कोठुबाट प्रहरी टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी २४ जनाको संयुक्त टोलीले बिहान ८ः२५ बजेदेखि कोशी पुल, कोशी कटान, बोराबाँध, सिसौलीघाटलगायत क्षेत्रमा रबर बोटमार्फत व्यापक खोजतलास सञ्चालन गरेको थियो।
खोजीका क्रममा साँझ ६ बजे घटनास्थलबाट करिब १० किलोमिटर दक्षिण बेलका नगरपालिका–८ सिसौलीघाट पारिको कोशी नदीको बीच भागमा शव तैरिरहेको अवस्थामा फेला परेको थियो। त्यसपछि रबर बोटमार्फत शवलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौलीघाटस्थित कोशी किनारमा ल्याइएको थियो।
इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षक अश्विन तोलाङ्गेको कमाण्डमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि राति ९ः५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको प्रहरीले जनाएको छ।

