इटहरी । भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ ।
करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिनुभयो । आफूले बुनेको मालिङ्गोका डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताउनुभयो । सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायत कच्चापदार्थबाट डोका बुन्दै आएको तामाङले जानकारी दिनुभयो ।
प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङले बताउनुभयो । गाउँघरमा बुढापाकाले मात्र चोयाका सामग्री बनाउने गरेको स्मरण गर्दै उहाँले यस्ता परम्परागत कामलाई व्यावसायीकरण गर्नसके अझ सहज हुने उहाँले धारणा राख्नुभयो । परम्परागत सेसालाई व्यावसायीकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


