इटहरी। सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र गाँजासहित सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसो इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलबाट ४६ वर्षीय दिनेश चौधरीलाई ०।८७ ग्राम ब्राउनसुगर र तीन किलो ९४० ग्राम गाँजासहित पक्राउ गरिएको हो । त्यसैगरी, देवानगञ्ज गाउँपालिका–७ मा गाँजा लुकाइछिपाइ राखेको सूचनाका आधारमा प्रहरीले एक किलो ९६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय रामबाबु यादव तथा भारतको अररिया जिल्ला सोनापुर पञ्चायत–६ का १९ वर्षीय सोनु मेहता र पोसदाहा पञ्चायत–६ का २६ वर्षीय सुमित संगम मेहता रहेका छन् ।
यस्तै, इटहरी उपमहानगरपालिका–१६ मित्तेरी टोलबाट १९ वर्षीय अबु खानलाई ०।१९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इटहरी–१० स्थित डिभिएम बोर्डिङ स्कुल नजिकबाट १७ वर्षीय शिबु मण्डललाई गएराति ०।३९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । यसैगरी, बराहक्षेत्र नगरपालिका–११ मधुवन बुधबारेबाट ४० वर्षीय कर्णबहादुर राईलाई २५।६३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ । उनलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–०५१ प ४८०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


