इटहरी | "रक्तदान जीवनदान" भन्ने नारासहित सुदर्शन सेक्युरिटी सर्भिसेस प्रा.लि.ले आफ्नो २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इटहरीको ओशीयस पार्क एण्ड रिसोर्ट परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा, पूर्व डिएसपी रमेश तामाङको अध्यक्षता र केशव अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन रुद्रराज शर्माले गर्नुभएको थियो।

रक्तदान कार्यक्रममा सुदर्शन सेक्युरिटी, सगरमाथा गार्मेन्ट्स, ओशीयस पार्क र सुदर्शन ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतका विभिन्न निकायहरूमार्फत १५ महिला र ४५ पुरुष गरी कुल ६० जनाले रक्तदान गरेका थिए। कार्यक्रमलाई बिराट टिचिङ हस्पिटल प्रा.लि .टंकीले प्राविधिक सहयोग प्रदान गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापाले यस्ता कार्यक्रमले बजारमा देखिएको रक्त अभाव हटाउन सहयोग पुग्ने र अनावश्यक रूपमा मानिसको ज्यान जानबाट जोगिन सकिने बताउँदै आयोजकलाई वडा कार्यालय र व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।IMG-20250805-WA0037

यसै अवसरमा १० औं पटक रक्तदान गर्ने कमल बराल, सन्तोष खतीवडा र राम नारायण चौधरीलाई सम्मान गरिएको थियो।रक्तदाताहरूलाई फलफूल, खाना, प्रमाणपत्र तथा यातायातको सुविधा समेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमका सञ्चालक रुद्रराज शर्माका अनुसार संस्थाले अबदेखि प्रत्येक वर्ष श्रावण १८ गते वार्षिकोत्सव मनाउने र सामाजिक उत्तरदायित्वअनुसार विविध कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ।