इटहरी । तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका( ३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षती पुर्याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान( ३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ । स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुग्नुभएका धरान उपमहानगरपालिका ( ३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताए । उनका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन् । वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको उनले बताए । गत वर्ष धरान( ३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो । त्यसबेला वडाबाट रु पाँच लाख र नगरपालिकाबाट रु १४ लाख बजेट विनियोजन गरी पहिरो रोकथाम गरिएको थियो ।