इटहरी । भोजपुर सदरमुकाममा निर्माणाधीन ढल आयोजना तोकिएको समयमा सम्पन्न नहुँदा स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती भोग्नुपरेको छ । संघीय सरकारको ८५ प्रतिशत र भोजपुर नगरपालिकाको १५ प्रतिशत लागत साझेदारीमा जीवाईइ सीएल बीडि टीएन एस जेभी कम्पनीसँग २०७९ असार २९ गते सम्झौता भएको यस आयोजनाको कुल लागत ५० करोड ३१ लाख ४२ हजार ६ सय ६३ रुपैयाँ निर्धारण गरिएको थियो । सम्झौता अनुसार काम २०८१ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने भए पनि हाल सम्म करिब ६५ प्रतिशत मात्र काम भएको छ । ढल निर्माणका क्रममा टुडिखेल मुनी देखि बैंकरोड हुँदै च्याङबेनी चोक सम्मको सडक मेसिन लगाएर भत्काइए पनि समयमै पुनर्निर्माण नगरिएकाले सडक लथालिङ्ग बनेको छ । यसले गर्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । बिरामीलाई अस्पताल पु¥याउन समेत लामो बाटो घुम्नुपर्ने बाध्यता सिर्जना भएको स्थानीयको गुनासो छ । स्थानीयवासीका अनुसार ठेकेदारले पर्याप्त जनशक्ति नलगाएकै कारण काम सुस्त गतिमा भइरहेको छ । तोकिएको म्याद सकिएपछि थप गरिएको सात महिनाको समय पनि फागुन ५ गतेमै समाप्त भएपनि काम अझै अपूरो छ । म्याद समाप्त भएको पाँच महिना बितिसक्दा समेत आयोजना पूर्ण नहुनुमा ठेकेदारको लापरबाही र व्यवस्थापन कमजोरी रहेको स्थानीयको आरोप छ ।


