इटहरी । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पस, इटहरीले बुधबार विशेष कार्यक्रमका बीच आफ्नै भवनको उद्घाटन गरेको छ । उक्त अवसरमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा मेयर पौडेलसँगै उमेश पौडेल, राजकुमार सापकोटा, किशोर कोइराला र रमेशकुमार पोखरेल रहेका छन् ।स्ववियू भवन इटहरी उपमहानगरपालिका र जनता बहुमुखी क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो । नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको र क्याम्पसले थप रकम बेहोरेर भवन निर्माण सम्पन्न गरेको हो । नयाँ भवनमा एउटा हलसहित तीनवटा कोठा रहेका छन् ।

भवनको संयुक्त उद्घाटन मेयर पौडेल र क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले गर्नुभयो । यस अवसरमा निजी शिक्षालय विश्व आदर्श कलेजले खानेपानीका ट्याङ्की तथा पिउने पानीको व्यवस्था स्ववियू भवनका लागि उपलब्ध गराएको छ ।

कार्यक्रममा स्ववियू सभापति सहदेव काफ्लेले नयाँ भवनले विद्यार्थीहरूको आवश्यकता पूरा गर्ने, उनीहरूको समस्या र अधिकार अगाडि बढाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि मेयर पौडेलले राजनीतिक संस्कार विकृत ढंगले अघि बढेको बताउँदै विद्यार्थीले यसलाई सही बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले अध्यक्ष विकास केसीको नेतृत्वमा जनता बहुमुखी क्याम्पसले उल्लेख्य प्रगति गरेकोमा प्रसंसा गर्नुभयो ।IMG-20250820-WA0002

सो अवसरमा क्याम्पस प्रमुख डा. गीता अधिकारी, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, प्रिन्सिपल गणेश दुलाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, क्याम्पस संगठनका सदस्य, समाजसेवी, प्रहरी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

IMG-20250820-WA0005