इटहरी | किरात राई यायोक्खा वडा कार्य समिति, इटहरी–१९ र २० ले धरानका नगरप्रमुख हर्क साम्पाङ्ले सञ्चालन गरिरहेको श्रम अभियानलाई जनता सम्म पुर्याउन इटहरीमा अभियान सुरु गरेको छ ।

धर्म संस्कार सस्कृती, हाम्रो पहिचान भन्ने मुल नाराका साथ, शुक्रबार तरहरा स्थित किरात राई यायोक्खाको भवनमा इन्दिरा राईको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको होे । 

नगर प्रमुख राईले इटहरीमा आएर वृक्षारोपण गर्दै अभियानको विधिवत् सुरुवात गर्नुभयो ।  उहाँलाई सम्मान समेत गरिएको थियो । नगरप्रमुख साम्पाङ्ले सञ्चालन गरिरहेको अभियान देशभर फैलाएर श्रमदानमार्फत देशको विकासमा योगदान पु¥याउन सकिने भएकाले, यस अभियानलाई जनता सँग जोड्नु पर्ने आवश्यकता रहेको किरात राई यायोक्खा वडा कार्य समिति, इटहरी–१९ र २० का अध्यक्ष इन्दिरा राईले बताउनुभयो। उहाँले संस्थाले निरन्तर रूपमा सामाजिक, सांस्कृतिक र शैक्षिक अभियानमा योगदान दिंदै आएको र भविष्यमा अझ ठूला कार्यक्रमहरू अघि बढाउने योजनाबारे जानकारी दिनुभयो ।

अभियानमार्फत समुदायका जनतालाई जागरूक बनाउनुपर्ने भाव व्यक्त गर्दै धरानका नगरप्रमुख हर्क साम्पाङ्ले श्रमदानमार्फत ठूला ठूला विकास निर्माणका काम गर्न सकिने तर्क राख्दै सबै जना यस अभियानमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो। नगरप्रमुख साम्पाङले श्रम अभियानमार्फत जनतालाई जागरूक बनाउन सकिने र वातावरण संरक्षणलाई प्रत्येक नागरिकको दायित्वका रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले “आजको यो वृक्षारोपण केवल रोपण मात्र होइन, भविष्यका पुस्ताका लागि स्वच्छ वायुमण्डल र सुरक्षित वातावरणको जग हो” भन्नुभयो ।


सल्लाहकार केके राईले वातावरण संरक्षण र वृक्षारोपणलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो भने स्वतन्त्र नागरिक समाज धरानका अध्यक्ष समीर तामाङले वृक्षारोपणजस्ता कार्यक्रमलाई व्यापक बनाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

सो अवसरमा इटहरी–२० का वडा अध्यक्ष मणिराम श्रेष्ठले वडास्तरमै पनि हरियाली अभियानलाई प्राथमिकतामा राखिएको बताउनुभयो । वडा सदस्य तनुज गुरुङले सामुदायिक सहकार्यका माध्यमबाट समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

IMG-20250822-WA0030

कार्यक्रममा किरात राई यायोक्खा  पदाधिकारीहरू, जनप्रतिनिधिहरू, समाजसेवी, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको बाक्लो सहभागिता रहेको थियो ।

किरात राई यायोक्खाले आफ्नो संस्कृति, परम्परा र समाजसेवामा सधैं सक्रिय भूमिका खेल्दै आएको छ । उपस्थित सहभागीहरूले वातावरण संरक्षणका लागि निरन्तर रूपमा यस्ता अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।